२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना महामारीपछि युएईबाट फर्किए साढे तेह्र हजार नेपाली

२८ श्रावण २०७७, बुधबार १३:४५

साउन २८, काठमाडौँ । कोरोना महामारीका कारण नियमित हवाई उडान बन्द भए पनि तीन महिनाको अवधिमा नेपालको प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बाट साढे १३ हजार नेपाली स्वदेश फर्केका छन् । जुन महिनादेखि मङ्गलबारसम्म विभिन्न ८२ चार्टड उडानमार्फत १३ हजार ७८५ नेपाली स्वदेश फर्किएको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । 

सोही उडानमार्फत विभिन्न कारणबाट युएईमा ज्यान गुमाएका २६ नेपालीको शव नेपाल फर्काइएको छ । पछिल्लो पाँच महिनामा युएईमा विभिन्न कारणबाट ११० नेपालीले ज्यान गुमाएका छन् । तीमध्ये चारवटा शव नेपाल पठाउने क्रममा रहेको, ६९ वटा शवको युएईमै अन्त्येष्टि गरिएको र ११ वटा शवको विस्तृत रिपोर्ट प्राप्त गर्ने प्रक्रियामा रहेको दूतावासले जनाएको छ । प्राकृतिक मृत्यु, कोरोना सङ्क्रमण, आत्महत्या, दुर्घटना, हत्यालगायत कारणबाट नेपालीले ज्यान गुमाएको दूतावासले स्पष्ट पारेको छ । 

दूतावासले नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीको विवरण सङ्कलन गर्न गत वैशाख १६ गतेदेखि अनलाइन रजिष्ट्रेसन फारम खुलाएको थियो । उक्त रजिष्ट्रेसन फारम भर्नेको सङ्ख्या हालसम्म ४२ हजार पुगेकोे छ । यसका अतिरिक्त इमेल र टेलिफोनमार्फत नेपाल फर्कन नाम टिपाउनेको सङ्ख्या पनि करीब पाँच हजारको हाराहारीमा रहेको दूतावासले जनाएको छ । 

नेपाल फर्कन नाम टिपाएकामध्ये सरकारले तोकेको प्राथमिकता क्रमका आधारमा गर्भवती, बिरामी, नेपालमा आफन्त गुमाएका, रोजगारी गुमाएकालगायत नागरिकलाई स्वदेश फर्काउने क्रम जारी रहेको दूतावासले जनाएको छ । हालसम्म विश्वका विभिन्न मुलुकबाट झण्डै ५० हजार नेपाली चार्टड उडानमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापक केन्द्र (सिसिएमसी)का अनुसार कोरोना भाइरसबाट उत्पन्न असहज परिस्थितिका बीच मङ्गलबारसम्म ५० हजार १३० नागरिकको उद्धार गरिएको छ । 

त्यसरी उद्धार गरिएकामध्ये सबैभन्दा बढी युएईबाट रहेका छन् । साउदी अरेबियाबाट सात हजार ८१७, मलेसियाबाट सात हजार ६०६, कतारबाट पाँच हजार ३२३, अष्ट्रेलियाबाट एक हजार ७८, जापानबाट एक हजार २३, दक्षिण कोरियाबाट ७२० र संयुक्त राज्य अमेरिकाबाट ५९१ जनाको उद्धार गरिएको छ । 

आज २८३ फर्किए

दक्षिण कोरिया र मलेसियामा अलपत्र परेको २८३ नेपाली आज स्वदेश फिर्केका छन् । सिसिएमसीका अनुसार दक्षिण कोरियाबाट कोरियान एयरलाइन्समार्फत २४७ र मलेसियाबाट मलेसियन एयरलाइन्समार्फत ३६ नेपाली स्वदेश फर्किका हुन् । आज स्वदेश फर्काइएका नेपालीलाई नेपाली सेनाको व्यवस्थापनमा स्थापना गरिएको ‘होल्डिङ सेन्टर’मा व्यक्तिगत विवरण सङ्कलन, स्वास्थ्य परीक्षणलगायत आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशको समन्वयमा क्वारेन्टिनमा पठाउने तयारी गरिएको सिसिएमसीले जनाएको छ ।

कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत पहिलो सातादेखि सबै नियमित अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाएको थियो । अन्तर्राष्ट्रिय उडान रोक लगाइएको अवस्थामा नेपाल फर्कनैपर्ने अवस्थामा रहेका नेपालीलाई गत जेठ महिनादेखि चार्टड उडानमार्फत स्वदेश फर्काउन थालिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य