रबिन्द्र यादव/ साउन १९ नवलपरासी । नवलपरासीको बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या बढेको छ । पछिल्लो बार्षिक अपडेट अनुसार बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या ७९५ रहेको छ । वि.सं २०७२ अषाढ देखि २०७३ अषाढ सम्म ४४२ जना महिला र ३५३ जना पुरुष लाई सर्पदंशको उपचार भएको गणले जनाएको छ ।
गर्मी र बर्षात मौसममा सर्पहरुको बिगविगी बढि हुने गरेकोले पनि सर्पदंशको उपचार गर्नेको संख्या बढेको देखिन्छ । सो गणमा नवलपरासी, रुपन्देही र भारतका सर्पदंशका बिरामी बढि आउने आउने गरेका छन् । दिनहु दुई देखि सात जनाको संख्यामा नेपाल र भारतबाट उपचार गराउन आउने गरेका गणले बताएको छ । नवलपरासीको कालीगण्डकी सामुदायिक अस्पताल कावासोती, पृथ्वी चन्द अस्पताल परासी र बज्र दल गण त्रिबेणीमा सर्पको टोकाइमा उपचार हुने व्यवस्था छ । गणले आफ्नो उपचारका लागि व्यवस्था मिलाए पनि सर्वसाधारण लागि सेवा प्रदान गर्दै आएको छ ।
नवलपरासीको यी तीन ठाउँमा मात्र सर्पदंशको उपचार केन्द्र रहेको मा जिल्लाको पहाडी गाउँ विकास समितिहरुका बिरामीहरुको कावासोती सम्म ल्याउदा ल्याउदै बाटो मै मृत्यु हुने गरेको बताइएको छ । त्यसकारण जिल्लाको केही ठाउहरुमा सर्पदंश उपचार केन्द्र थप्नु पर्नेमा सेवाग्राहीले बताएका छन् ।
बज्रदल गण सर्पदंश उपचार केन्द्रलाई इन्द्रेणी समाजिक विकास मंचले सोलार उपलब्ध गराएको सो संस्थाका कार्यकारिणी निर्देशक बद्री प्रसाद सुवेदीले बताउनु भएको छ । यसै गरि त्रिबेणी सुस्ता गाउँ विकास समितिले पनि सहयोग गर्दै आएको गणले बताएको छ ।
नवलपरासीको सुस्तामा नारायणी नदिमा आएको बाढीले गाउमा सर्पहरु प्रबेश गरि रहेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले बताउनु भएको छ । यसै गरि परासीमा आएको बाढीले परासी क्षेत्रमा पनि सर्पको बिगबिगी बढेको नेपाल पत्रकार महासंघ नवलपरासीका सचिव पुरुसोत्तम सुवेदीले जानकारी दिनु भएको छ ।