२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

दमौली अस्पतालले शुरु गर्यो कोभिड सङ्क्रमितको उपचार

२०७८, २९ बैशाख बुधबार ०५:०७

वैशाख २९, दमौली (रासस)। दमौली अस्पतालले कोभिड सङ्क्रमितको उपचार शुरु गरेको छ । अस्पतालले मङ्गलबारदेखि कोभिड सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु गरेको हो । अस्पतालमा पाँच सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चार व्यास नगरपालिका र एक म्याग्देका सङ्क्रमितको उपचार शुरु गरिएको छ । सबै सङ्क्रमित निमोनियापीडित छन् । सङ्क्रमितलाई अक्सिजन दिइएको छ ।

“सबै सङ्क्रमितको फोक्सोमा निमोनिया देखिएको छ, उहाँहरुलाई अक्सिजन र अत्यावश्यक औषधि दिइएको छ”, डा पौडेलले भन्नुभयो । उहाँका अनुसार अस्पतालमा १६ सङ्क्रमितलाई उपचार गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । अहिलेको अवस्थामा उक्त शय्या आजै भरिनेजस्तो देखिएको डा पौडेलले बताउनुभयो । अस्पतालले जनरल वार्डलाई कोभिड कक्षमा रूपान्तरण गरेको थियो । उक्त ठाउँमा शय्या थप गर्ने प्रयास भइरहेको पनि अस्पतालले जनाएको छ । अस्पतालले सात आइसीयू र चारवटा भेन्टिलेटरसहितको शय्या यसअघि नै तयार गरिसकेको छ ।

जनप्रतिनिधि चढ्ने गाडी एम्बुलेन्समा रूपान्तरण

तनहुँको बन्दीपुर गाउँपालिकाले पदाधिकारीले प्रयोग गर्दै आएको सवारीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा समयमै एम्बुलेन्स पाउन नसक्ने भएपछि गाउँपालिकाले पदाधिकारी चढ्दै आएको सवारीलाई एम्बुलेन्स बनाएको हो ।

हाल गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स रहेको र सर्वसाधारणको सहजताका लागि गाउँपालिकाको गाडीलाई एम्बुलेन्स बनाइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । बन्दीपुरमा हाल एउटा जीर्ण अवस्थामा रहेको एम्बुलेन्स छ । “पुरानो भएकाले जुनसुकै बेला पनि धोका हुनसक्छ, त्यही भएर पूर्वतयारीस्वरूप हामीले नै चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनायौँ”, थापाले भन्नुभयो ।

गाउँपालिकाले एम्बुलेन्स खरिदका लागि दुईपटक सूचना आह्वान गरेको थियो तर त्यो अवधिमा गाउँपालिकाले एम्बुलेन्स खरिद गर्न सकेन । “एम्बुलेन्स किन्न सूचना निकाल्याँै, तर एम्बुलेन्स नै पाइएन”, उहाँले भन्नुभयो । कोरोना सङ्क्रमितको उपचारका लागि गाउँपालिकाले बन्दीपुर अस्पतालमा १५ शय्याको आइसोलेशनसमेत तयार पारिसकेको छ । आइसोलेशनमा हाल १० थान अक्सिजन सिलिण्डर मौज्दात छ भने प्रहरीले डुम्रेबाट सङ्कलन गरेको १० थान सिलिण्डर पनि प्राप्त भएको छ । “बन्दीपुर गाउँपालिका कोभिड सङ्क्रमितको उपचारका लागि तयारी अवस्थामा छ”, थापाले भन्नुभयो ।

क्विक रेस्पोन्स टिम गठन

तनहुँ जिल्लामा कोरोना सङ्क्रमितको उपचारमा समन्वय गर्न क्विक रेस्पोन्स टिम गठन गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा चार सदस्यीय टिम गठन गरेको हो ।

टिमको सदस्यमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना, दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पौडेल र स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारी रहनुभएको छ । आइतबार भानु नगरपालिकाका एक वृद्धले समयमै उपचार नपाएर दमौली अस्पतालबाहिर एम्बुलेन्समै ज्यान गुमाउनुपरेपछि अस्पताल र प्रशासनको आलोचना हुँदै आएको छ ।

बैठकले दमौलीमा रहेको कृषि विकास बैंकको पुरानो भवनमा होमआइसोलेशनमा बस्न स्थान नभएका विपन्न व्यक्तिका लागि स्वास्थ्यकर्मी र अक्सिजनको सुविधासहित व्यास नगरपालिकाले सामूहिक आइसोलेशन सेन्टर सञ्चालन एवं व्यवस्थापन गर्ने निर्णय गरेको छ । बैठकले प्रत्येक स्वास्थ्य संस्थामा पर्याप्त स्वास्थ्य सामग्री र औषधिको प्रबन्ध गर्ने, प्रत्येक स्थानीय तहले सङ्क्रमितको मृत्यु भएको खण्डमा शव व्यवस्थापन गर्न आवश्यक पर्ने सवारी साधन, शववाहन, पिपिइलगायतका सामग्री व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ ।

होम आइसोलेशनमा र स्वास्थ्य संस्थामा रहेका सङ्क्रमितसँग स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखलाई निरन्तर सम्पर्कमा राख्ने, सङ्क्रमितलाई थप उपचारका लागि अस्पतालसम्म लैजान पर्दा सम्बन्धित अस्पतालका प्रमुखसँग समन्वय गर्ने, सबै स्थानीय तहमा रहने स्वास्थ्य संस्थाका आइसोलेशनमा बिरामीको अवस्था र दिनुपर्ने सेवाका आधारमा सङ्क्रमितको उपचार प्रबन्ध मिलाउने, सङ्क्रमितलाई उपचारका लागि पोखरा र अन्य अस्पतालमा पठाउनुपर्दा अस्पतालका विशेषज्ञ चिकित्सकले पठाउनुपर्ने अस्पतालसँग समन्वय गर्ने निर्णय भएको छ । त्यसैगरी स्थानीय तहमा स्वास्थ्य शाखा प्रमुख रहने गरी गठन भएको अनुगमन समितिले होमआइसोलेशन र क्वारेन्टिनको अनुगमनमा जिम्मेवार बनाउने निर्णयसमेत भएको प्रशासनले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो