पढ्न करिब 3 मिनेट लाग्छ

झलनाथ खनाल । साउन १०, भजनी (रासस) । कैलालीको टीकापुर नगरपालिका–२स्थित जनशक्ति सामुदायिक वनसँग जोडिएको मूलपानी आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।कुनै समय सुनसान रहने सामुदायिक वनको सो क्षेत्रमा अहिले दैनिक एक हजारभन्दा बढी आन्तरिक पर्यटक पुग्न थालेका छन् । सामुदायिक वनले खाली स्थानबाट ग्राभेल उठाउन दिएपछि त्यहाँबाट पानी निस्किएर दुईवटा तलाउ बनेकाले अहिले गर्मी छल्न सयौं आन्तरिक पर्यटक मूलपानी पुग्न थालेका हुन् ।

पानी सफा देखिने भएका कारण शनिबार र सार्वजनिक बिदाका दिन सो क्षेत्रमा अधिक भिड हुने गरेको छ । दुईवटा तलाउ बनेकाले एकाएक यसको लोकप्रियता बढनाका साथै यो स्थल राम्रो पर्यटकीय गन्तव्य बन्न सक्ने त्यहाँ पुगेका पर्यटक बताउछन् । हिजोआज दुईवटै तलाउमा नुहाउनेको भिड देख्न सकिन्छ । सामुदायिक वनले दुबै तलाउलाई व्यवस्थित गरी एउटामा महिला र अर्कोमा पुरुष नुहाउने चाँजो मिलाएको छ।

जानकी गाउँपालिका–७ का नवराज बाब्लीले स्रोत र साधनको परिचालन गरी सो क्षेत्रलाई व्यवस्थित गर्न सके पर्यटकका लागि अझै महत्वपूर्ण क्षेत्र बन्नसक्नेमा जोड दिनुभयो । “अहिले यो क्षेत्रको प्रचारप्रसार हुनसकेको छैन । कर्णाली नदीको तटमा भएका कारण पनि यसको महत्व बढेको छ ।” उहाँले भन्नुभयो,“स्थानीय सरकार र वन व्यवस्थापन समितिले मूलपानी क्षेत्रलाई महत्व दिए नगरपालिकाको आम्दानीको स्रोत बन्न सक्ने निश्चित छ ।”

टीकापुर नगरपालिका–१ निवसी समाजसेवी भरत भण्डारीले मूलपानी क्षेत्रको प्रचारप्रसार हुनसके आम्दानीका लागि राम्रो माध्यम बन्ने भन्दै मूलपानीसँग टीकापुर पार्क र कर्णाली चिसापानीको पुललाई जोड्ने गरी सडक विस्तार गर्नसके त्यसको महत्व अझै थपिने बताउनुभयो । “अहिले मूलपानी पुग्ने आन्तरिक पर्यटक टीकापुर आसपासका मात्रै छन् । भोलि यसको प्रचारप्रसार भए बाह्य पर्यटकलाई पनि सो क्षेत्रमा भित्र्याउन सकिन्छ ।” उहाँले भन्नुभयो, “ चिसापानी पुलदेखि कर्णालीको किनार हुँदै सडक विस्तार गर्नसके अझै यसको महत्व बढेर जाने निश्चित छ ।”

रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कर्णाली नदीमा तटबन्ध निर्माण गर्दै आएको छ । त्यही तटबन्धबाट चिसापानी हुँदै टीकापुर भएर सडक सञ्जाल विस्तारका लागि सम्भाव्यता अध्ययन भइरहेका बेला मूलपानी पनि पर्यटकका लागि राम्रो गन्तव्य हुने समाजसेवी भण्डारीले बताउनुभयो ।

घुम्न जानुभएका टीकापुरका चन्द्रकान्त अधिकारीले मूलपानीको संरक्षणमा संरचनागत विकास हुनसके भविष्यमा राम्रो उपलब्धि हासिल हुनसक्ने बताउनुभयो । “जङ्गलको छेउमा अवस्थित मूलपानीमा थुप्रै विकासका सम्भावना देखिन्छ तर त्यसको संरक्षण र सम्बद्र्धनका लागि सरोकारवाला निकायसम्म जानकारी गराउन आवश्यक छ ।” उहाँले भन्नुभयो, “भोलिका दिन मूलपानीसम्म आउने पर्यटकका लागि जङ्गल सफारीसमेतको व्यवस्था गर्नसके स्थानीय सरकारको आयस्रोत मात्र बढ्दैन थुप्रैका लागि रोजगारीको अवसर पनि हुनेछ”।

अहिले मूलपानी क्षेत्रमा कर्णाली नदीसँगै जङ्गल अवलोकनका लागि जनशक्ति सामुदायिक वनले भ्युटावर निर्माण गरिरहेको छ ।

त्योसँगै वनले आम्दानीका लागि मूलपानी क्षेत्रसम्म पुग्ने पर्यटकबाट १० रुपैयाँ टिकटको व्यवस्था गरेको छ । पर्यटकबाट सङ्कलन भएको रकम सामुदायिक वनले सो क्षेत्रमा अन्य संरचनागत विकास गर्नसक्ने वनका अध्यक्ष दीर्घबहादुर तिरुवाले बताउनुभो ।