पुस १४, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याको समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । देउवाले सरोकारवाला तीन मन्त्रीसँग छलफल गरेर वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याको समाधान गर्ने आश्वासन दिएका हुन्। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा आवद्ध व्यवसायीहरूले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति देउवालाई बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री देउवाले उक्त प्रतिवद्धता जनाएका हुन् ।
एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकाल र महाधिवेशन प्रतिनिधिहरुले वैदेशिक रोजगार क्षेत्रमा लामो समयदेखि समाधान हुन नसकेका समस्याहरुको बारेमा प्रधानमन्त्री देउवालाई सविस्तारमा अवगत गराएका थिए । प्रधानमन्त्री देउवालाई उधृत गर्दै एसोसिएसन अध्यक्ष ढकालले व्यवसायीका समस्या सुनेपछि समस्याहरूका बारेमा अर्थमन्त्री, परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र वैदेशिक रोजगारका अन्य सरोकारवाला पक्षसँग छलफल गरी सकेसम्म छिटो समस्याहरु समाधान गर्ने प्रतिवद्धता जनाएको बताए ।
अध्यक्ष ढकालले एसोसिएसनका तर्फबाट आफुले नेपाली कांग्रेसकै सरकारको कार्यकालमा फ्रि भिसा फ्रि टिकट निर्णय गरिएको तर बिना गृहकार्य उक्त निर्णय आएका कारण सुन्दा लोकप्रिय र कर्णप्रिय लागेपनि कार्यान्वयमा लैजान नसकिएकोले समस्या भएको र तत्काल त्यसलाई परिमार्जन गरेर भारत, पाकिस्तान र श्रीलंकासहित दक्षिण एशियाली देशहरूको जस्तो प्रावधान लागू गरिनुपर्ने माग राखेको बताए ।
कामदार पठाए बापत लिने सेवा शुल्क अव्यवहारिक रहेको कारणले व्यवसायीले कर तिर्न समस्या रहेको र त्यसले राष्ट्रलाई नै समस्या पारेकाले कामदारको एक महिनाको तलब बराबरको रकम सेवा शुल्क लिने व्यवस्था गरेर सहजरूपमा कर तिर्ने वातावरण बनाइदिनु पर्ने र कोरोनाका कारणले व्यवसाय सञ्चालन हुन नसकेकोले व्यवसायीले राखेको धरौटीबाट कम्तीमा २५ लाख रूपैयाँ केही समयका लागि व्यवसायीलाई तत्काल दिने व्यवस्था गर्न माग गरिएको पनि अध्यक्ष ढकालले जानकारी दिए ।