पढ्न करिब 3 मिनेट लाग्छ

पुस २८, काठमाडौँ | इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका उम्मेदवारमध्ये एक सय २५ जना इजरायलका लागि प्रस्थान गर्नेछन् । वैदेशिक रोजगार विभागले इजरायल जानका लागि छनोट भएका मध्ये एक सय ४३ जनाको इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा एक सय २५ जना पहिलो चरणमा इजरायल प्रस्थान गर्ने भएका हुन् ।

वैदेशिक रोजगार विभागका अनुसार भिसा जारी भएकाहरू आउँदो माघ ५ गते इजरायल प्रस्थान गर्नुपर्ने भएकाले मङ्गलबार नै टिकट बुक गर्न आह्वान गरिएको छ । विभागका महानिर्देशक दीपक काफ्लेले इजरायलबाट रोजगार सम्झौता प्राप्त भएका उम्मेदवारको भिसा आउन सुरु भइसकेको जानकारी दिनुभयो । उहाँले इजरायल जानका लागि छनोटमा परेका एक सय २५ जनालाई मङ्गलबार टिकट बुक गरेर अन्य प्रक्रिया सुरु गर्न आग्रह गर्नुभयो । ‘फस्ट कम फस्ट सर्भिस’ आधारमा टिकट बुक गर्न नसक्नेका हकमा क्रमशः अर्को तीन÷चार दिनपछि अर्को उडानमार्फत जान पाउने पनि उहाँले जानकारी दिनुभयो ।

विभागका अनुसार भिसा आएकाहरूले नक्सालस्थित नागपोखरीमा रहेको सिलिक्ज होलिडेज प्रालि नामक कम्पनीबाट टिकट बुक गर्नुपर्नेछ । टिकट बुक गर्नुपूर्व हात्तीसारस्थित सिद्धार्थ बैङ्कको शाखामा ५९ हजार ९९० रुपियाँ जम्मा गर्नुपर्ने विभागले जनाएको छ । ‘फस्ट कम फस्ट सर्भिस’का आधारमा टिकट बुक गरेका १२५ जनाका लागि पुस २९ गते वा बिहीबार व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा बिहान १० बजेदेखि ४ बजेसम्म उपस्थिति भएर बायोमेट्रिक हाजिरी गर्नुपर्नेछ भने पुस ३० गते र माघ २ गते सोही प्रतिष्ठानमा अभिमुखीकरण तालिम लिनका लागि उपस्थिति हुनुपर्ने विगागले जनाएको छ ।

विभागले इजरायल जानका लागि करार सम्झौता भएका उम्मेदवारको भिसा प्रक्रियाका लागि नेपालस्थित इजरायली दूतावाससँग सहजीकरणका लागि अनुरोध गरिने जनाएको छ । उहाँहरूको भिसा आएपछि मात्रै अभिमुखीकरण तालिमको व्यवस्था गरिने विभागले जनाएको छ । महानिर्देशक काफ्लेले विभागले हाल कोभिड–१९ विरुद्धको खोप लगाएका तथा लगाउन बाँकी रहेका युवाको नामावली अध्यावधिक गर्ने काम गरिरहेको छ । विभागले कात्तिकमा पाँच सय र मङ्सिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । नामावली प्राप्त भएका युवाको हस्ताक्षर प्रयोजनका लागि श्रमिकलाई विभागमा उपस्थित गराउने तयारी गरेको विभागले जनाएको छ ।

इजरायलको पिवाले छनोट गरेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरेको थियो । यसरी प्रकाशित गरेका नाममध्ये पहिलो चरणमा क्रम सङ्ख्याका आधारमा तीन सय ५० महिला र एक सय ५० पुरुषको नामावली इजरायल पठाइएको थियो । बाँकी छ सय ७५ जनाको नामावली दोस्रो चरणमा पठाइएको थियो ।

विभागले इजरायल जाने नेपालीले मासिक एक हजार ६०० अमेरिकी डलर अर्थात् हालको विनिमय दरअनुसार एक लाख ९० हजार रुपियाँभन्दा बढी पारिश्रमिक पाउने जनाएको छ । एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि एक वर्षको हुने भए पनि करार थपिएर पाँच वर्षसम्म बस्न पाइनेछ । गोरखापत्रबाट |