Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

वैदेशिक रोजगार बोर्डबाट प्रदान हुने सबै सेवा अब अनलाइनबाट लिन सकिने

By साझासवाल 4 मिनेट पढाइ

चैत १४, काठमाडौं । वैदेशिक रोजगार बोर्डबाट प्रदान हुने आर्थिक सहायता लगायतका अन्य सेवाहरू अब अनलाइनबाट लिन सकिने भएको छ ।

आज सोमबारदेखि बोर्डबाट प्रदान हुने आर्थिक सहायता लगायतका सेवा वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणालीबाट प्रदान गर्न थालिएको हो । वैदेशिक रोजगार नियमावली २०६४ को पाँचौँ संशोधनमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका श्रमिकको करार अवधि वा करार अवधि सकिएको एक वर्ष भित्र कुनै कारणले मृत्यु, अङ्गभङ्ग वा गम्भीर बिरामी भएमा घटना घटेको मितिले एक वर्ष भित्र बोर्डमा नियम अनुसार आर्थिक सहायताका लागि निवेदन दिन सकिन्छ । यस्तो निवेदन आफ्नो पालिकाबाट पनि दिन सकिने व्यवस्था रहेको छ ।

अब भने निवेदन दिने प्रक्रियालाई थप सरल र सहज बनाउन बोर्डले अनलाइन प्रणालीको विकास गरेर कार्यान्वयनमा ल्याएको जनाएको छ ।

यसका लागि श्रम मन्त्री स्तरको निर्णयबाट वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७८ स्वीकृति भएर कार्यान्वयनमा समेत आइसकेको छ ।

कार्यविधि अनुसार अब मृत्यु, अङ्गभङ्ग, गम्भीर बिरामी भएमा पाइने आर्थिक सहायता, शैक्षिक छात्रवृत्ति, श्रमिकको परिवारले पाउने स्वास्थ्य उपचार खर्च, शव नेपाल झिकाउने, अलपत्र श्रमिकलाई उद्धार गरी स्वदेश ल्याउने, निःशुल्क शव ढुवानी सेवा लगायतका बोर्डमार्फत पाइने सेवाका लागि अनलाइनमार्फत निवेदन दिन सकिन्छ ।

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकको हकवालाले नियम अनुसार पाउने बिमा रकमको भुक्तानीका लागि समेत यही प्रणालीमार्फत प्रक्रिया गर्न सकिनेछ ।

यो अनलाइन प्रणालीमार्फत पालिकाहरूमार्फत प्राप्त हुन आएका निवेदनहरूमा कागजात पुगेमा नियम अनुसार पाउनु पर्ने क्षतिपूर्ति बोर्डले व्यक्तिको बैङ्क खातामा नै पठाउने छ । आर्थिक सहायता प्राप्त भएको जानकारी मोबाइल एसएमएसमार्फत व्यक्तिलाई जानकारी आउनेछ ।

यस्तै एक पटक वैदेशिक रोजगारीमा गएर पुनः त्यही काममा जाने श्रमिकले अब अभिमुखीकरण तालिम लिन नपर्ने भएको छ । चैत १४ गते सोमबारदेखि नै यो व्यवस्था लागू भएको श्रम मन्त्रालयले जनाएको छ ।