२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा निर्वाचनको तयारी पूरा

२०७९, २८ कार्तिक सोमबार ०२:३८

कात्तिक २८, दमौली | मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि अब सामग्री बुझाउने काम मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

 क्षेत्र नम्बर १ र २ मा खटिने मतदान र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार तालिम प्रदान गरिएको छ । क्षेत्र नम्बर १ अन्तर्गतका तीन सय चार र क्षेत्र नम्बर २ अन्तर्गतका तीन सय छ जना मतदान र सहायक मतदान अधिकृतलाई तालिम सम्पन्न भएको कार्यालय प्रमुख हरिप्रसाद ढकालले बताउनुभयो । 

तालिममा कानुनी, व्यावहारिक र सैद्धान्तिक पक्षबारे जानकारी दिइइएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाका विषयमा जानकारी गराइएको छ । 

मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको छ ।

मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले निर्वाचनमा खटिने कर्मचारीले निष्पक्ष भएर जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । केसीले आचारसंहिता बाँधिएर निर्वाचनलाई सम्पन्न गराउनेतर्फ ध्यान दिन आग्रह गर्दै भन्नुभयो, "निर्वाचनमा खटिएपछि सबैले आफ्नो आस्थालाई बिर्सिनुपर्छ, सबैलाई समान नजरले हेरेर निष्पक्षरुपमा निर्वाचन सम्पन्न गराउनेतर्फ लाग्नुपर्छ ।”

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनलाई भयरहित बनाउन सुरक्षा अवस्था मजबुद बनाइएको भन्दै ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो । “मतदान केन्द्रमा सुरक्षाको अवस्था मजबुद बनाइएको छ, सुरक्षामा कुनै कसुर बाँकी राखिँदैन”, उहाँले भन्नुभयो, “ढुक्क भएर निष्पक्षरुपमा जिम्मेवारी वहन गर्नेतर्फ ध्यान दिनुहोला ।” मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्यरुपमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रजिअ अर्यालले बताउनुभयो ।

जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र अब सामग्री बुझाउन मात्र बाँकी रहेको निर्वाचन अधिकारी ढकालले बताउनुभयो । “कात्तिक २९ गतेबाट मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाउने काम हुन्छ, मङ्सिर १ गते सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्नुपर्ने हुन्छ ।” 

निर्वाचन कार्यालयले निर्वाचन अधिकृतको कार्यालयमा सामग्री ढुवानी गरिसकेको छ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट सामग्री वितरण हुने भएकाले तनहुँ क्षेत्र नम्बर २ का लागि निर्वाचन अधिकृतको कार्यालयमा सामग्री पठाइएको छ । “यसपटक सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीलाई सामग्री वितरण गरिने भएकाले क्षेत्र नम्बर २ का लागि आवश्यक सामग्री पठाएका छौँ”, उहाँले भन्नुभयो, “क्षेत्र नम्बर १ को कार्यालय दमौलीमा नै भएकाले केही दिनमा पठाउँछौँ ।”

निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्री प्याकिङ गरेर पठाइएको छ । प्रति मतदान केन्द्रमा ६१ प्रकारका सामग्री पठाइनेछ । निर्वाचनका लागि तनहुँमा तीन हजार तीन सय ६० कर्मचारी आवश्यक पर्नेछन् । त्यसमध्ये दुई हजार चार सय ४० कर्मचारी निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्त गरिने मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले बताउनुभयो । त्यसका अलवा सम्बन्धित मतदान केन्द्रमा एक हजार दुई सय २० स्वयंसेवक नियुक्त गरिनेछ । 

आँबुखैरेनी गाउँपालिकामा कूल एक सय ३६, ऋषिङ गाउँपालिकामा दुई सय, घिरिङ गाउँपालिकामा एक सय ३६, देवघाट गाउँपालिकामा एक सय १९, बन्दीपुर गाउँपालिकामा एक सय ६८, भानु नगरपालिकामा तीन सय ९२, भिमाद नगरपालिकामा दुई सय ४८, म्याग्दे गाउँपालिकामा एक सय ६०, व्यास नगरपालिकामा चार सय ४७ र शुक्लागण्डकी नगरपालिकामा एक सय ८९ जनशक्ति परिचालन गरिनेछ ।

जिल्लाका दुई लाख ४४ हजार तीन सय ४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार आठ सय ६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार चार सय ७१ मतदाता रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने