पढ्न करिब 2 मिनेट लाग्छ

माघ ६, म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा रहेको हीराजस्तै टल्किने बहुमूल्य कार्ज ढुंगाखानी उत्खनन हुन नसक्दा राज्यले अर्बौ रुपैयाँ गुमाएको छ ।

हीरा, मोतीजस्ता बहुमूल्य बिलासी धातुमा प्रयोग हुने ‘कार्ज’ नामक उक्त ढुंगाको खानी गुर्जाको पहाडमा रहेको प्रमाणित भइसक्दा पनि उत्खननका लागि राज्यले कुनै पहल नगर्दा अलपत्र अवस्थामा रहेको छ ।

खानी तथा पुरातत्व विभागले एक दशक अगाडि उक्त ढुंगा खानीको पहिचान गरे पनि उत्खननका लागि सम्बन्धित निकायले चासो नदेखाउँदा अलपत्र परेको धौलागिरि गाउँपालिका–१ का वडाध्यक्ष झकप्रसाद छन्त्यालले बताउनुभयो । जिल्लाको अति विकट क्षेत्रमा रहेको गुर्जाको घुर्मखोलाअन्तर्गत पर्ने गुर्जा हिमालको फेदमा रहेको उक्त खानीको कार्ज ढुंगा म्याग्दीको सदरमुकाम बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा राखिएको छ ।

शुक्रबार हेलिकप्टरबाट म्याग्दी उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष राजेश शाक्य, किरण सापकोटा र लोकेश पुनको टोली हेलिकप्टरमार्फत गुर्जामा पुगेर कार्ज ढुंगा ल्याई प्रदर्शन गर्नुभएको थियो ।

“बहुमूल्य हीराको खानी हुनसक्छ, खानीको वास्तविकता अवलोकन गर्नुपर्छ” म्याग्दी उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष शाक्यले भन्नुभयो । गुर्जा गाउँबाट करिब एक दिनको दूरीमा रहेको खानी आसपासका पहाड रातको समयमा बत्ती बलेजस्तै टल्किने गरेको शाक्यले बताउनुभयो ।

कार्ज नामक ढुंगा भएको पुष्टि भएपछि २०६५ र अहिलेको महोत्सवमा प्रदर्शन गरिएको छ ।

खानी भएको क्षेत्रमा रातको समयमा पहाड नै बत्ती बालेजस्तै उज्यालो हुने भएकाले पनि स्थानीयले अनुसन्धानमा सघाउन अनुरोध गरेका छन् । पत्थरलाई उचित प्रशोधन गरे बहुमूल्य धातु तथा औँठी तथा मानिसले प्रयोग गर्ने धातुमा प्रयोग गर्न सकिन्छ । रासस