पढ्न करिब 5 मिनेट लाग्छ

लक्ष्मीप्रसाद सापकोटा / माघ ९, पर्वत | उपभोक्ता समिति गठनमा सहमति जुट्न नसकेपछि यहाँको एक विकट गाउँमा सञ्चालन हुन लागेको करोडौँको खानेपानी योजना अलपत्र भएको छ ।

फलेवास नगरपालिका–३ शंकरपोखरीमा सञ्चालित खानेपानी आयोजनाको काम विवादका कारण शुरु हुन नसकेको हो । समितिको पदाधिकारीका लागि दलीय टकराव भएपछि उपभोक्ता समितिमा विवाद उत्पन्न भएको हो ।

नेपाली काँग्रेस गाउँ कार्यसमितिका सचिव शिवप्रसाद तिवारीको अध्यक्षतामा खानेपानी उपभोक्ता समिति गठन भएको थियो । उक्त समितिमा नेकपा (एमाले)का तर्फबाट भीमप्रसाद भुसाल सचिव, माओवादी केन्द्रका विष्णुबहादुर विक उपाध्यक्ष रहनुभएको थियो । तर एमाले र माओवादी केन्द्रले अध्यक्ष आपूहरुले पाउनुपर्ने दाबी गर्दै उक्त समितिलाई नस्वीकार्ने बताएपछि विवादले चर्को रुप लिएको हो । उनीहरूले आमभेला नै नगरी उपभोक्ता समिति निर्माण गरिएको भन्दै विरोध गरेका हुन् । विरोधीहरूले अर्को आमभेला गरेर समिति गठन गर्न माग गरिरहेका छन् । यता उक्त वडाका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चालगायत दलका प्रतिनिधिसहित दलित, अपाङ्ग र महिलाको सहभागितामा उक्त समितिको निर्माण गरिए०को दाबी गर्नुभयो ।

खानेपानी तथा सरसफाइ मन्त्रालयको रु २४ करोडको लागतमा बृहत् खानेपानी आयोजना सञ्चालन हुने जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उक्त गाविसका ७०० भन्दा बढी घरधुरी र केही सार्वजनिक धारासमेत निर्माण गर्ने गरी योजना शुरु भएको हो ।

“उपभोक्ता समिति आमभेलाबाटै निर्माण भएकाले वैधानिकताको प्रश्न उठाएर विरोध गर्नु विकासको काम रोक्नुबाहेक केही होइन ।” उहाँले भन्नुभयो, “नगरपालिकाले समेत सोही समितिलाई वैधानिकता दिएको छ ।” नगरपालिकाका प्रमुख पदमपाणि शर्माले समितिमा विवाद गरेर खानेपानी आयोजना काममा अवरोध नगर्न र विवाद नगर्न आग्रह गर्नुभयो । “बेकारका माग राखेर काम रोक्नुहुन्न भन्नेमा हामी अडिग छौँ ।” नगर प्रमुख शर्माले भन्नुभयो, “सानातिना विवादले काम रोक्नु हुँदैन भनेर हामीले निर्देशन दिएका छौँ ।”

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले विवाद भइरहेकाले काम शुरु गर्न नसक्ने बताउँदै तत्काल विवाद समाधान गरेर काम शुरु गर्न ताकेता गरिरहेको छ । चालू आवमा खानेपानी तथा सरसफाइ मन्त्रालयमार्फत रु २४ करोडको बृहत् खानेपानी आयोजना सञ्चालन गर्न अख्तियारी प्राप्त भए पनि उपभोक्ता समितिमा विवादले नै आयोजना प्रभावित बनेको हो । नियमअनुसार स्थानीय उपभोक्ता समिति नबनी टेण्डर आह्वान गर्न मिल्दैन । वडाभरिका नागरिकलाई खानेपानी पु¥याउन आयोजना शुरु हुन लाग्दा उपभोक्ता समिति निर्माणमा नै विवाद भएपछि स्थानीयवासी भने निराश बनेका छन् ।

कार्यालयका अनुसार उपभोक्ता समितिबीचको विवादले आयोजनाको निर्माण कार्यमा ढिलाइ हुनेछ । आफ्नो गाउँमा बन्ने योजनामा विवाद नगरी सहमतिमा आउन उपभोक्तालाई आग्रह गरेको छ । कार्यालय प्रमुख प्रेम डोटेलले उपभोक्तालाई सहमतिमा ल्याउने प्रयास भइरहेको बताउनुभयो । उहाँले योजना सञ्चालनका लागि आवश्यक सहयोग गर्न र उपभोक्ता सहमतिमा आए तोकिएकै समयमा खानेपानी योजना सम्पन्न हुने बताउनुभयो ।

पूर्ण साक्षर घोषणा तयारी

पर्वत जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी गरिएको छ ।

पर्वत जिल्लाका ६१ वटै वडा दुई हप्ताभित्र पूर्ण साक्षर घोषणा भएपछि यही महिनाभित्र जिल्लालाई नै पूर्ण साक्षर घोषणा गर्ने तयारी अगाडि बढाइएको हो । जिल्ला शिक्षा कार्यालयले गएको जेठभित्रै साक्षर जिल्ला घोषणा गर्ने तयारी गरे पनि सात महिना ढिलो गरी साक्षर जिल्ला घोषणा गर्न लागिएको हो ।

पर्वतमा रहेका ६१ वडामध्ये हालसम्म ५६ वटा वडा पूर्ण साक्षर घोषणा भइसकेका छन् । बाँकी रहेका कुश्मा नगरपालिका वडा नं १२ लाई माघ १० गते साक्षर घोषणा गरिने र ११ गते मोदी गाउँपालिकाका चार वटै वडा एकै दिन घोषणा गर्ने तयारी भएकोे छ । त्यसपछि माघको तेस्रो साताभित्रै जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी थालिएको हो । अहिलेसम्म माघ १८ मा घोषणा गर्ने योजना भए पनि भोलि बस्ने बैठकले अन्तिम टुंगो लगाउने भएको छ ।

जिल्ला शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक मनोहर विश्वकर्मा पौडेलले पर्वतलाई साक्षर जिल्ला घोषणा गर्ने तयारी भएकाले जिल्लाका लागि यो महत्वपूर्ण कार्य भएको बताउनुभयो । “बाँकी रहेका वडा घोषणापछि एउटा महत्वपूर्ण काम सम्पन्न गर्छौं”, उहाँले भन्नुभयो, “पर्वत जिल्ला आफैँमा शिक्षामा अगाडि भएको जिल्ला हो, घोषणापछि यसलाई पुष्टि गर्न सहज हुन्छ ।”

साक्षर जिल्ला घोषणा गर्न साक्षरताको सूचक ९५ प्रतिशत भए पुग्ने भए पनि कार्यालयले गरेको मूल्याङ्कनमा ९६ दशमलव ६३ प्रतिशत प्रगति भएको देखिएको छ । पन्ध्र वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले पढ्न र लेख्न सक्ने, हस्ताक्षर गर्न सक्ने, साइनबोर्ड पढ्न सक्नेजस्ता सूचक पूरा भएमा साक्षर घोषणा गर्ने मापदण्ड छ । । जिल्लामा ७८ हजार २३७ जना साक्षर भएकामा १५ देखि ६० वर्ष उमेर समूहको जनसंख्या ८० हजार ६८४ हुन्छ । सन्तााब्बे प्रतिशत पुग्ने जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिनुभयो । साक्षर घोषणा गर्न औपचारिक तथा अनौपचारिक शिक्षा चलाइएको र लक्ष्यअनुसार सबै काम सम्पन्न गर्ने तयारीमा रहेकाले साक्षर जिल्ला घोषणा गरिने पौडेलले बताउनुभयो ।

बालाकोट पूर्ण साक्षर

यसैबीच पर्वतको महासिला गाउँपालिका वडा नं ३ बालाकोट पूर्ण साक्षर वडा घोषित गरिएको छ । वडामा हालै आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेल र गाउँपालिकाका अध्यक्ष राजु पौडेलले संयुक्त रुपमा बालाकोटलाई पूर्ण साक्षर घोषणा गर्नुभएको थियो । रासस