२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रानीपोखरी पुनःनिर्माणका क्रममा प्रयोग भएका कङ्क्रिट १ साताभित्र हटाइने

२०७५, ८ असार शुक्रबार ०७:५४

शर्मिला पाठक/असार ८, काठमाडौँ | रानीपोखरी पुनःनिर्माणका क्रममा यसअघि प्रयोग भएका कङ्क्रिट एक साताभित्र हटाइने भएको छ । 

विगत १० दिनदेखि शुरु गरेको उक्त कार्य अबको एक हप्ताभित्र सम्पन्न गरी पुनःनिर्माणका लागि बोलपत्र आह्वान गर्ने र निर्माण कम्पनीलाई जिम्मा दिइसक्ने जानकारी काठमाडौँ महानगरपालिकाले दिएको छ । 

भूकम्प जानुअघि जस्तो अवस्थामा रानीपोखरी रहेको थियो सोहीअनुरुप पुनःनिर्माणको काम सम्पन्न गरिने कामपाका इन्जिनियर राम थापाले बताउनुभयो । 

अठार महिनादेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको चौतर्फी विरोध आएपछि विगतमा निर्माणका क्रममा प्रयोग भएका आधुनिक निर्माणका सामग्री हटाउन लागिएको हो । 

यसअघि कामपाले जेठ १५ गतेदेखि पुनःनिर्माण शुरु गर्ने भनिए पनि हालसम्म पुनःनिर्माण हुन सकेको छैन । विसं २०७२ को भूकम्पबाट रानीपोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुगेको थियो । 

गत पुस १३ गते पुनःनिर्माणका लागि गठन गरिएको विज्ञ समूहले प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरुप निर्माण गर्न सुझाव दिएका थिए । 

प्रताप मल्लले आफ्ना छोरा चक्रबर्तिन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । यो पोखरीको निर्माण कार्य करीब पाँच वर्षभित्र सम्पन्न अर्थात् नेसं ७८९ (विसं १७२५) मा भएको थियो र नेसं ७९० (विसं १७२७÷इसं १६७०) मा शिलापत्र राखिएको थियो । जसलाई नेपाल संवत् ८११ इसं १६११) मा न्हुरपुखुर (न्हुपुखु) अर्थात नयाँ पोखरी भनिएको छ । 

बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकूट शैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ । उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको स्केचबाट पनि प्रष्ट हुन्छ । 

पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । जसमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ । रानीपोखरीको लम्बाइ १८० मिटर र चौडाइ १४० मिटर ओगटेको छ । 

रोकिएको काम शुरु गर्न गत चैत २२ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालबीच भएको छलफलले आधुनिक निर्माणको सामग्री हटाउने निर्णय गरेको थियो । 

पुनःनिर्माणमा स्थानीयवासीको चासो 

यसैबीच स्थानीय बासिन्दाले पनि रानीपोखरीलाई मल्लकालीन शैलीमा नै निर्माण गरिनुपर्नेमा चासो देखाएका छन् । 

गत मंगलबार उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) लाई, सम्पदा बचाऊ अभियानमा आबद्ध युवाको समूहले भेटेर रानीपोखरीलाई मल्लकालीन शैलीमा पुनःनिर्माण गरिदिन आग्रह गर्दै प्रतिवेदन बुझाएका छन् । 

प्रतिवेदन बुझ्ने क्रममा उपप्रमुख श्रेष्ठले रानीपोखरी पुनःनिर्माणका विषयमा महानगरभित्र दुई मत छैन, सबैको ध्यान यसको प्राचीनता बचाउनमा केन्द्रित छ, यसमा स्थानीय र अन्य सरोकारवाला निकायको सकारात्मक सहयोगको खाँचो पर्दछ । 

अभियानलाई नेतृत्व गरिरहनुभएका आलोकसिद्धि तुलाधर र गणपतिलाल श्रेष्ठ नेतृत्वको समूहले, काठमाडौँका ४४ भन्दा बढी पर्व र ५१ बढी तीर्थस्थलको गरिमा बचाइदिन आग्रह गरेको थियो । 

काठमाडौँका पूर्व पानी, कुण्ड, पोखरी, तालतलैयासँग अन्तरसम्बन्धित छन् । तीमध्येको रानीपोखरी पनि एक हो । पुरातत्व विभागले दोहोरो कुरा गर्यो, रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरलाई मल्लकालीन शैलीमा बनाउने विषयमा स्थानीयवासी सहमत छन् । 

पुरातत्व विभाग भने राणाकालीन शैलीको कुरा गरिरहेको छ । त्यसैले स्थानीयवासीको भावनाको कदर गर्ने कुरामा महानगरको नेतृत्व गर्ने यहाँले बताउनुभयो । 

अभियानका अगुवा तुलाधरले भन्नुभयो, “महानगरले गठन गरेको विज्ञ समूहको समितिले मन्दिर मल्लकालीन शैलीमा बनाउन सकिने राय दिइसकेको छ, सोही रायका आधारमा महानगरले निर्णय लिनुपर्छ ।” 

यस क्षेत्रका आधुनिक संरचना हटाएर, प्राचीन झल्को दिने स्वरुपमा रुपान्तरण गर्न पनि प्रतिवेदनमार्फत कामपालाई आग्रह गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता