पढ्न करिब 2 मिनेट लाग्छ

भदौ १९, लहान । आन्तरिक विवाद र जनप्रतिनिधिबीचको असमझदारीका कारण सिरहाका सात स्थानीय तहले चालु आर्थिक वर्षको बजेट अझै प्रस्तुत गर्न नसक्दा अन्योल बढेको छ । सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई पत्राचार गरी असार १० भित्रै बजेट ल्याइसक्न निर्देशन दिए पनि सिरहाका १७ स्थानीय तह मध्ये सात स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन् ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रानुसार असार १० गतेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिएको थियो । समयमै बजेट नआए सङ्घीय सरकारबाट सम्बन्धित स्थानीय तहमा जाने अनुदान र राजश्व बाँडफाँटको प्रवद्र्धनमा समस्या पर्ने चेतावनीसहित अर्थमन्त्रालयले पत्राचार गरेपछि १० वटा स्थानीय तहले मात्रै गाउँ तथा नगरसभामा बजेट पेश गरेका छन् ।

सिरहामा आठ नगरपालिका र नौ गाउँपालिका रहेकामा पाँच गाउँपालिका र दुई नगरपालिकाले अझै गाउँ तथा नगरसभामा बजेट पेश गर्न नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाका प्रमुख राधेश्याम गिरीले जानकारी दिनुभयो ।

सिरहाको औरही, नवराजपुर, लक्ष्मीपुर पतारी, अर्नमा र बरियारपट्टी गाउँपालिकाले गाउँसभा गर्न नसकेको प्रमुख गिरीले बताउनुभयो । उहाँका अनुसार कल्याणपुर र मिर्चैया नगरपालिकाले पनि नगरसभामा बजेट पेश गर्न सकेका छैनन् । सिरहाका विभिन्न स्थानीय तहमा देखिएको आन्तरिक विवाद, जनप्रतिनिधिहरु बीचको असमझदारीलगायतका कारणले समयमा नगरसभा हुन नसकेको प्रमुख गिरीको भनाइ छ । रासस