असोज १६, डोटी । पछिल्लो समय जिल्लामा स्थानीय जातको कुखुरापालन गर्ने कृषक बढेका छन् । यहाँका मुख्य बजारमा स्थानीय (लोकल) कुखुराको माग बढ्दै गएपछि कृषक व्यावसायिकरूपमै स्थानीय जातका कुखुरापालनमा आकर्षित हुन थालेका छन् । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सुरज विकले बजारमा स्थानीय कुखुराको माग देखेरै कुखुरापालनमा लागेको बताउनुभयो । उहाँले रु पाँच लाख लगानी गरी २०० चल्ला राखेर कुखुरापालन व्यवसाय शुरु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बजारमा लोकल कुखुराको माग पनि बढेको छ, बोइलर कुखुराले बजारमा लोकल कुखुरा लोप हुन थालेकाले पनि मैले उक्त व्यवसाय शुरु गरेको छु ।”

जिल्लाका प्रमुख बजारमा स्थानीय जातको कुखुरा प्रतिकिलो रु ५५० मा फार्मबाटै जिउँदो बिक्री वितरण हुने गरेको शिखर नगरपालिका–२ का अर्का कुखुरा व्यवसायी डबलबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य व्यवसायमा भन्दा स्थानीय जातको लोकल कुखुरापालन गर्दा राम्रो आयआर्जन गर्न सकिने भएकाले कुखुरा पालन व्यवसाय राम्रो छ ।” जिल्लामा निजी तथा सरकारी अनुदानको रकमबाट कम्तीमा पनि एक दजर्नभन्दा बढी स्थानीय जातका कुखुरापालनका लागि व्यावसायिक फार्महरु खुलेका छन् । बोइलर कुखुराका कारण जिल्लामा स्थानीय जातका कुखुरा लोप हुँदै जान थालेपछि यहाँको प्रदेश सरकार पशुपक्षी विकास विभागको सहयोगमा जिल्लामा कुखुरापालन व्यवसायीका लागि अनुदान दिन थालेपछि कुखुरा व्यवसायी बढ्न थालेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारले युवा व्यवसायीलाई प्रोत्साहन गर्न भन्दै विभिन्न युवालक्षित कार्यक्रम, बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ऋण र लगानीका कार्यक्रम ल्याए पनि कार्यान्वयन प्रक्रियामा भने झन्झट रहेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका अर्का कुखुरा व्यवसायी रमेश अवस्थीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले लोकल कुखुरापालनमा सहयोग त दिएको छ तर त्यसको कार्यान्वयन प्रक्रियामा भने झन्झटिलो छ ।” जिल्लामा साना–ठूला गरी कम्तीमा पनि १०० भन्दा धेरै स्थानमा व्यावसायिकरूपमै स्थानीय जातको कुखुरापालन गर्न निवेदन दर्ता भएको पशु सेवा स्वास्थ्य कार्यालयको तत्थ्याङ्कमा उल्लेख गरिएको छ ।

सदरमुकाम आसपास र राजमार्ग क्षेत्रमा पछिल्लो समय युवा उद्यमी स्थानीय जातको कुखुरापालन आकर्षित हुने क्रम बढ्दै गएको कार्यालयले जनाएको छ । राजमार्ग क्षेत्रमा स्थानीय जातका कुखुराको मासुका परिकार पाइने होटलको सङ्ख्या पनि बढिरहेको अत्तरिया–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गको गैराका स्थानीय ललित मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका बजारमा लोकल कुखुराको मासुको माग बढेपछि व्यवसाय फष्टाएको छ ।” चिसो मौसम शुरु हुन शुरु भएकाले जिल्लाभरिमा लोकल कुखुराको माग दिनप्रतिदिन बढ्दै गएको कोआइसिंह गाउँपालिका–५ मा लोकल कुखुरापालन गर्दै आउनुभएकी माधवी चन्द शाहीले बताउनुभयो ।

मुख्य गरी प्रदेश सरकारले लोकल कुखुरापालनमा अनुदान दिन थालेपछि जिल्लाभरिमा व्यावसायिकरूपमा स्थानीय जातका कुखुरापालनतर्फ व्यवसायीको आकर्षण पनि बढ्दै गएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “युवा उद्यमीलाई लक्ष्य गरेर प्रदेश सरकारले लोकल कुखुरापालनका लागि ऋण अनुदान दिएपछि कुखुरा व्यवसायी बढेका हुन् ।” दिपायल सिलगढी र शिखर नगरपालिकाका साथै जोरायल, बडिकेदार, केआइसिंह, बोगटान फुड्सिल, आदर्श, सायल तथा पूर्वीचौकी गाउँपालिकाका विभिन्न स्थानमा व्यावसायिकरूपमै धमाधम लोकल कुखुरापालन व्यवासाय गर्न थालिएको छ । रासस

Related News