2026-08-24 09:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डेढ महिनादेखि सडक सञ्जालबाट मनाङ पूर्णरूपमा विच्छेद, दैनिकी चलाउनै समस्या

नवीन लामिछाने । साउन ४, मनाङ (रासस)। देशैभर मनसुन शुरु भएको एक महिना भयो । मनसुनसँगै हिमाली जिल्ला मनाङले बाढीपहिराको बढी प्रभाव र क्षति भोगेको छ । डेढ महिनादेखि सडक सञ्जालदेखि मनाङ पूर्णरूपमा विच्छेद छ । जिल्लामात्र नभई मनाङभित्रैका गाउँ पनि एकअर्कासँग आवतजावत हुन सकेको छैन । 

बाढीपहिराका कारण सडक मात्र नभई मनाङमा विद्युत् र खानेपानीको सेवा पनि ठप्प छ । सदरमुकाम चामेमा नै समय समयमा सञ्चार सम्पर्क टुट्ने समस्या छ । बाढीपहिराले क्षति गर्दा कतिपय गाउँ अझै पनि विद्युत् र सञ्चार सम्पर्कमा जोडिन सकेका छैनन् । सबै क्षेत्रमा क्षति भोगेको हिमाली जिल्ला मनाङले निकै नै सकस तथा जोखिमपूर्ण अवस्था बेहोर्न बाध्य भएको छ । मस्र्याङ्दी नदीमा बाढीको सतह केही कम भएपछि पनि धेरै जोखिम र सकस भोग्दै आएको छ । स्थानीयवासीका अनुसार सडक सञ्जाल विच्छेदले सबैभन्दा बढी सकस बनाएको छ । सडक सञ्जालको नामोनिसान मेटिएपछि जिल्लामा खाद्यान्न, औषधि, इन्धनलगायतका अत्यावश्यक वस्तु पु¥याउन नसक्दा अभाव सिर्जना भएको छ ।

स्थानीयवासीले आवश्यक परेका सामग्री पसलमा गएर किन्न पाएका छैनन् । बिरामी परेमा उपचारका लागि अस्पतालसम्म पुग्न पनि उत्तिकै कठिन छ । पैदल हिँडडुल नै असहज बनेको छ । एउटा गाउँबाट अर्को गाउँमा आउजाउ गर्दा रुखको जरा समाएर स्थानीयवासी हिँडडुल गर्न बाध्य भएका छन् । ज्यान जोखिममा राखेर पहरो कोपेर बनाइएका साँघु तरेर यात्रा गरिरहेका छन् । “जोखिम र सकसपूर्ण अवस्थामा अहिले हामी गुज्रिरहेका छौँ । सबैभन्दा अप्ठ्यारो अवस्था हामीलाई अहिलेसम्मको पहिलो समस्या होला सायद”, मनाङका पर्यटन व्यवसायी विनोद गुरुङ भन्नुहुन्छ, “सबैतर्फबाट हामीले समस्यै समस्या भोगेका छौँ ।” गुरुङका अनुसार खाद्यान्न ढुवानी गर्न नपाउँदा बढी समस्या भएको छ । लमजुङको बेँसीशहर हुँदै खाद्यान्न ढुवानी गर्ने अवस्था नरहेपछि मुस्ताङ हुँदै खच्चडबाट आवश्यक खाद्यान्न र दैनिक अत्यावश्यक वस्तु ढुवानी गरेर जीविका चलाउनुपरेको उहाँ बताउनुहुन्छ । 

मुस्ताङ हुँदै ढुवानी गर्दा अन्नपूर्ण फेरो पदमार्गको सबैभन्दा उच्च विन्दु थोराङ्ला भञ्ज्याङ (पाँच हजार ४१६ मिटर) पार गर्नुपर्छ । माथिल्लो मनाङवासीले अहिले थोराङ्ला भञ्ज्याङ हुँदै खाद्यान्न र आवश्यक वस्तु ढुवानी गरिरहेको गुरुङले बताउनुभयो । “पिसाङमा दुई र खाङ्सारमा एक ट्रिप सामान थोराङ्ला हुँदै ढुवानी भयो, अब मनाङवासी पनि केही दिनमा सामान ल्याउने तयारीमा छन्”, उहाँले भन्नुभयो । यो रुटमार्फत खच्चडबाट गरिएको ढुवानी निकै नै महँगो पर्छ । थोराङ्ला फेदी (मुस्ताङतर्फ)बाट मनाङसम्म खच्चडबाट सामान ढुवानी गर्दा प्रतिकिलो रु ४० खर्च लाग्ने उहाँले बताउनुभयो । थोराङ्ला भञ्ज्याङको मुस्ताङको फेँदीसम्म गाडी पुग्छ । मुक्तिनाथबाट डेढ दिनमा सामान मनाङ आइपुग्ने उहाँले बताउनुभयो । 

“दाल, चामल, तेल, नुन, औषधिसहितका सामान अहिले मुस्ताङबाट ल्याउन थालेका छौँ, यताबाट ल्याइएन भने माथिल्लो मनाङमा अभाव सिर्जना हुन्छ”, उहाँले भन्नुभयो । गुरुङका अनुसार गाडीबाट बेँसीशहर हुँदै मनाङसम्म प्रतिकिलो रु १० मा सामान ढुवानी हुन्थ्यो, तर अहिले खच्चडबाट ल्याउँदा रु ४० र हेलिकप्टरमार्फत रु २५० पर्ने गरेको छ । “अब त तल (चामे हुँदै) सामान आउने सम्भावना नै छैन, मान्छे हिँड्न त डोरीको भरमा हिँड्नुपर्ने अवस्था छ, हुनेखानेले पो हेलिकप्टरबाट ल्याउलान्, सामान्य मानिसले सामान ल्याउन सक्ने अवस्था नै छैन”, उहाँले भन्नुभयो, “उपचारमा बढी समस्या, बिरामी परे अस्पताल पुग्नै कठिन छ, मौसम खराबीले हेलिकप्टरको उडानमै कठिनाइ छ ।” पैसा भए पनि हेलिकप्टर नै आउन सक्ने अवस्था नभएको उहाँले बताउनुभयो ।  

दाताको सहयोगमा ल्याइएको रासन बाहिरबाट आएका कामदार र एकल तथा गरिब परिवारलाई उपलब्ध गराउने गरिएको गुरुङले बताउनुभयो । एकल महिला, गरिबलाई राहत दिने गरी योजना बनाएकोसमेत उहाँले जानकारी दिनुभयो । “बाहिरबाट आएकालाई यहाँ बढी कठिन भएको छ । उनीहरुले मौज्दात सामान राख्न पनि सकेका छैनन्, गोरखा, धादिङ, रुकुम, रोल्पाका मान्छे यहाँ कामका लागि आउनुभएको छ, न त घर जान सक्ने अवस्था छ, न त यहाँ सहज भएको छ उहाँहरुलाई, केही सहयोग भने हामीले गरेका छौँ”, उहाँले भन्नुभयो ।   

उद्योग वाणिज्य सङ्घ मनाङका अध्यक्ष सन्तोष श्रेष्ठले मोटरबाटो नखुल्दा अवस्था कठिन बन्दै गएको बताउनुभयो । “माथिल्लो भेगमा समस्या छ । खाद्यान्न ढुवानीमा समस्या छ । पैसा भएर पनि सामान ल्याउन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “बाटो नभएपछि बजार ठप्प छ । बजारमा सामान किन्न पाइन छाड्यो, चामेतिर पनि अवस्था उस्तै छ, पैसा भए पनि सामान पाइने अवस्था छैन । उहाँले थोराङला भञ्ज्याङ हुँदै दैनिक उपभोग्य र अत्यावश्यक वस्तु ल्याउन बाध्य भएको बताउनुभयो । 

मनाङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रमा पर्छ । एक्याप मनाङका संरक्षण अधिकृत लेखनाथ गौतमका अनुसार मौज्दात खाद्यान्न पनि सकिन थालेको छ । उहाँले हेलिकप्टर वा थोराङ्ला भञ्ज्याङ पार गराएर सामान ल्याउनेबाहेक विकल्प नै नभएको बताउनुभयो । “अझै पनि मान्छे घर फर्किन सकेका छैनन्, तालगाउँका करिब ९० प्रतिशत घरका मान्छे आफन्त कहाँ आश्रय लिइरहेका छन्, कतिपय बाँडिएर गाउँमै बसेका छन्, सामूहिकरूपमा चार ठाउँमा गाउँले बसेका छन्”, उहाँले भन्नुभयो । 

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार मनाङको अवस्था जोखिमपूर्ण बन्दै गएको छ । गाडी नचलेपछि खाद्यान्न, औषधि, अत्यावश्यक वस्तु अभाव हुन थालेको उहाँले बताउनुभयो । उहाँका अनुसार बिजुली अभाव छ, सौर्य ऊर्जाको भरमा काम गर्न मुस्किल भएको छ, बजारमा सामान किन्न पाइने अवस्था छैन । “यहाँ बढी अस्थायी बासिन्दालाई समस्या परेको छ”, उहाँले भन्नुभयो, “तर कसैलाई भोकै बस्न नपरोस् भनेर हामी जुटाउनतर्फ सचेत भएका छौँ ।”

प्रजिअका अनुसार सदरमुकाम चामेमा १५० र हुम्डेमा ८० क्विन्टल चामल मौज्दात छ । खाद्य संस्थानसँग एक हजार क्विन्टल चामल माग गरेको उहाँले बताउनुभयो । “हेलिकप्टरबाट चामल ल्याउने हो, अझैसम्म त कोही भोकै परेका छैनन्”, उहाँले भन्नुभयो, “सबैतर्फबाट गाह्रो भएको छ, माथिल्लो मनाङबाट तल्लो मनाङसम्म सामान ल्याउन पनि सकिने अवस्था छैन ।” यस्तो अवस्थामा सरकारले कहिलेसम्म सडक सञ्जाल सहज बनाउन पहल गर्छ भन्ने आशमा मनाङवासी बसेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन