इजरायली राजदुत र श्रममन्त्री अर्यालबीच भेटवार्ता: नयाँ कामदारको मागबारे छलफल

Posted on: 15 Mar, 2024

चैत २, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालस्थित इजरायली राजदूत हानन गोडरबीच भेटवार्ता भएको छ । 

भेटवार्ताका क्रममा इजरायल र नेपालबीचको द्विपक्षीय श्रम सम्बन्धका विविध पक्षका बारेमा राजदूत गोडरले श्रममन्त्री अर्याललाई जानकारी गराउनुका साथै सरकारी प्रक्रियाबाटै केयर गिभरका रुपमा नेपाली श्रमिकहरु इजरायल गइरहेको र भविष्यमा निर्माण, पर्यटन, कृषि लगायतका अन्य विभिन्न क्षेत्रमा समेत नेपाली श्रमिकहरु पठाउन द्विपक्षीय छलफल र समन्वयलाई प्रभावकारी बनाउदै लैजाने विषयमा कुराकानी भएको छ । 


यसै क्रममा राजदुत गोडरले इजरायलमा कार्यरत रहँदा इजरायल गाजा क्षेत्रमा जारी द्वन्दको क्रममा मृत्यु भएका  १० जना नेपाली बिद्यार्थीहरुको परिवारलाई क्षतिपूर्ति बापत मासिक रुपमा भत्ता रकम उपलब्ध गराउने इजरायल सरकारको निर्णय बारे मन्त्री अर्याललाई जानकारी गराएका छन् । मन्त्री अर्यालले इजरायल सरकारको उक्त निर्णयप्रति सन्तोष व्यक्त गर्दै धन्यवाद दिएका छन् । 

भेटमा श्रममन्त्री अर्यालले इजरायलबाट विभिन्न क्षेत्रमा प्राप्त मागहरुको आधारमा नेपाली श्रमिकहरुलाई पठाउने विद्यमान प्रकियालाई आगामी दिनहरुमा छिटो छरितो र सरलीकरण गर्दै लगिने आश्वासन दिएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!