2026-07-26 01:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबुधाबीमा नेपाली महिला अवसर र सम्भावनाको खोजी गर्दै


कल्पना पौडेल/जेठ २६, दुबई । आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ ।

घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र सम्हाल्नुपर्ने सोचमा परिवर्तन हुनथालेसँगै रोजगारीका लागि स–साना बालबच्चालाई छाडेर विदेसिने महिलाको सङ्ख्यामा पनि वृद्धि हुन थालेको हो ।

रोजगारीको मुख्य गन्तव्यमध्येको एक दुबईमा पनि नेपाली कामदारको सङ्ख्या उल्लेख्य छ । अन्तर्राष्ट्रिय ट्रान्जिटका रूपमा रहेको अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली महिलाको सङ्ख्या झन्डै ३०० भन्दा बढी छ ।

कतिले आफ्ना काखेबच्चालाई छोडेर, कतिले आफ्नो अध्ययनलाई पूरा नगरी परिवारको आर्थिक अवस्था सुधार्न अनि कतिले भने आफ्नो सुन्दर भविष्यका लागि परदेश आएको बताउँछन् ।

सुकिला पोसाक, हँसिलो अनुहार लिएर काममा खटिएका यी महिलालाई देख्दा नेपाली नै हुन् भनेर ठम्याउन मुस्किल पर्छ ।

पार्लरमा काम गर्ने रहरले पाँच महिनाअघि विदेशिएकी बुटवल मुर्गियाकी निरु परियार एयरपोर्टको सफाइ गर्ने काममा दुबई आएकी थिइन् ।

एयरपोर्टको शौचालयमा भेटिएकी उनी नेपाली गीत गुनगुनाउँदै सफाइ गर्दै थिइन् । किन विदेशिएको भनी सोध्दा उनले हाँस्दै भनिन्, ‘दुबई आई ब्युटिपार्लरमा काम गर्ने रहर पहिलेदेखि थियो । त्यसका लागि भिसा लागेन अनि दोस्रो पटक अर्को कामका लागि एकपल्ट छिरेपछि पार्लरतिर जानुपर्ला भनेर आएँ । यो काम अलिअलि गाह्रो छ, पहिला यस्तो गरेको थिइनँ ।’

निरुमात्र होइन परिवार र बच्चाको उज्ज्वल भविष्यको सपना बोकेर ६ वर्षअघि दुबई छिरेकी सङ्गीता पनि सुरुमा यहाँ काम सिक्दाका दुःख बिर्सन नसकिने बताउँछिन् ।

‘बाध्यता सबैको उस्तै हो विदेश आउनुपर्ने । बच्चा र परिवारको यादले कति भक्कानो फुट्छ हामीलाई मात्र थाहा छ तर पनि काम गर्नैपर्छ । नत्र पेट पाल्न सकिन्नँ,’ उनले भनिन् ।

हालैको भ्रमणका क्रममा भेटिएकी उनी शरीर पोल्ने, झमझमाउने, टाउको दुख्ने समस्या भएपनि परदेशको ठाउँमा आरामको कुनै गुञ्जायस नभएकाले दैनिक १२ घन्टा काममा खटिएकी थिइन् ।

‘आराम गरे तलब आउँदैन घर फर्कौ भने आएको वर्षदिन पुगेको छैन । बिदा पाइँदैन । ओभरटाइम पनि गर्नैप¥यो । धन्य यहाँ भित्र अरू नेपाली दिदीबहिनीले सहयोग गर्छन्,’ ३६ वर्षीया सङ्गीताले बाध्यता सुनाइन् ।

अबुधाबी अन्तर्राष्ट्रिय एयरपोर्टमा सानोदेखि ठूलो पदमा रही काम गर्ने महिलाको सङ्ख्या झन्डै ३०० को हाराहारीमा रहेको बताइन्छ । नाम नलेख्नु है भन्दै हेटौँडाका ३० वर्षीय एक नेपाली युवाले पुरुषको तुलनामा एयरपोर्टमा महिला कामदारको सङ्ख्या बढी रहेको बताए । उनले भने, ‘एयरपोर्ट बाहिर त पुरुषकै सङ्ख्या बढी छ, यहाँ नेपाली पुरुष २५० जना छन् तर महिला त्यो भन्दा बढी छन् ।’

यहाँ काम गर्ने नेपालीहरू आपसमा नेपाली भाषामै आफ्ना समस्या साटासाट गर्छन् । कोही नेपाली जस्तो लागेमा सोधीखोजी गर्छन् । यहाँ काम गर्ने महिला कामदारलाई बाहिरी व्यक्तिसँग बोल्ने अनुमति छैन अझ खासगरी सुरक्षाकर्मीहरूसँग । यो कुरा सुनाउन पनि ती महिलाले बाथरुमभित्र लगेका थिए ।

दुबईमा रोजगारीका लागि आउने नेपाली सबै कम पढेका वा गाउँका व्यक्तिमात्र हुन्छन् भन्ने भ्रम पनि अबुधाबी एयरपोर्टमा कार्यरत क्यासियर मेरिना प्रधानलाई भेटेपछि टुट्छ ।

कुनै नायिकाभन्दा कम नलाग्ने प्रधानले एयरपोर्टमा समस्या परेका त्यहाँ कार्यरत रहेक नेपाली चेलीको ख्याल पनि उत्तिकै राख्छिन् । को बिरामी छ, कसलाई समस्या परेको छ, को परिवारलाई सम्झेर दुःखी छ सबै जानकारी उनीसँग छ ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी उनको परिवार दार्जिलिङमा छ । ‘पढेर सजिलै घरपायक राम्रो जागिर पाउन गाह्रो छ । धेरै ठूलो आकाङ्क्षा पनि केही छैन । दुई वर्ष भयो आएको । जे छ त्यसमै खुसी हुनुपर्छ भन्ने सोचेर यसैमा आनन्दित छु,’ उनले भनिन्, ‘कसैको रहर त घर छोड्ने हुन्न । परदेशमा सबै नेपाली आफ्नै लाग्छन् । कामले यति फुर्सद हुन्न तर मिलेसम्म म हरेक सहयोग गर्ने कोसिस गर्छु ।’

यहाँ कति दिदीबहिनी पहिलोपल्ट आउँदा अत्तालिन्छन्, उनीहरूलाई सान्त्वना दिन पाउँदा पनि खुसी मिल्ने उनको भनाइ छ । देशमा रोजगारी नहुँदा विदेशिएका नेपाली महिलाले आफूहरूले पनि घरव्यवहार चलाउन सकेकोमा सन्तुष्टि व्यक्त गरे ।

कामको सम्मान हुने भएकाले विदेशी मुलुकमा काम गर्न सजिलो भएको नेत्रा कार्कीले बताइन् । ‘हामीलाई आफ्नो देशमा काम गर्न कठिन छ तर हामीलाई यहाँ सजिलो छ,’ नेत्राले भनिन् ।

एयरपोर्टमा कार्यरत महिलाले अन्यत्रभन्दा बढी कमाइमात्र गर्दैनन्, व्यक्तित्वसमेत गजबले विकास गरेका छन् । मेरिना प्रधानका अनुसार विश्वका मानिसको आवतजावत हुने भएकाले यहाँ काम गर्ने हरेक महिलाको व्यक्तित्व र आत्मबल उच्च छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ