जेठ ४,काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमानका सरकारी कार्यालयहरुमा घरेलु कामदारको भीषामा रोजगारीको लागि जान लगाइएको प्रतिबन्ध हटाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण राज बिष्टले मन्त्रीस्तरीय निर्णय गरी उक्त प्रतिबन्ध खुल्ला गरेका हुन् ।
मन्त्रालयले ओमानस्थित रोयल कोर्ट अफ अफेयर्स, रोयल कोर्ट अफ दिवान, रोयल गार्ड अफ ओमान र मस्कट नगरपालिकामा बगैंचे, सवारी चालक, हेल्पर, बार टेण्डर, कृषि श्रमिकका पदहरुलाई घरेलु कामदार सरह नमानिने गरी खुल्ला गरेको हो ।
मन्त्रालयको सो निर्णयले थुप्रै नेपाली कामदार लाभान्वित हुने ओमानस्थित नेपाली दूतावासले जनाएको छ । ओमनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले यस विषयमा केहीदिन अघि नेपाल सरकारका विभिन्न निकय लगायत मन्त्री बिष्टको ध्यानकर्षण गराएकी थिइन् ।