पुष ८, काठमाडौं | वैदेशिक रोजगारीका क्रममा कोरिया गएर फर्किएका नेपाली कामदारले ‘टुरिष्ट गाइड’को काम पाउने भएका छन् । कोरियाबाट फर्किएका कामदारलाई समाजमा पुनर्स्थापना गर्न सघाउने गरी दक्षिण कोरिया सरकारले टुरिष्ट गाइडको काम दिलाउन सघाउने भएको हो ।
आगामी बुधबार नेपाल र कोरियाबीच सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर हुँदैछ । सम्झौतामा हस्ताक्षर गर्न कोरिया मानव संशाधन विकास सेवा केन्द्र (एचआरडी कोरिया) का सभापति किम दोङ्मान नेपाल आउदैछन् ।
कोरियाबाट फर्किएकाहरुलाई काम उपलब्ध गराउन केन्द्रले विश्व ओक्टा, कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेशन एसोसिएसन फर नेपाल, कोरिया साउथ इष्ट पावर कम्पनी र युएम होङगील ह्युमन फाउण्डेसनसँग समन्वय गर्दैछ । उनीहरुले कोरियाबाट घुम्न आएका कोरियन नागरिकहरुलाई नेपालमा गाइड गर्ने काम पाउने छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कले सन् २०१७ मा ३४ हजार ३ सय १ जना दक्षिण कोरियाका नागरिक नेपाल घुम्न आएको देखाएको छ ।
एचआरडी कोरियाका अनुसार ४ वर्षभन्दा बढी कोरियामा बसेर त्यहाँको संस्कृति राम्ररी बुझेका र कोरियन भाषा परीक्षा इपीएस तेस्रो श्रेणीभन्दा माथिल्लो श्रेणी ल्याएकाहरुलाई कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेशन एसोसिएसन फर नेपालमा कामका लागि सिफारिस गर्नेछ ।
कोरियाबाट फर्किएर गाइड बन्न चाहनेहरुले उक्त सिफारिसको आधारमा रोजगारी पाउनेछन् ।