मनोज पराजुली,पुस १०, काठमाडौँ । जापानले नेपालसहित ९ देशबाट कामदार लैजाने निर्णय गरेको छ । जापान टाइम्सका अनुसार विदेशी कामदारहरूलाई आफ्नो देशमा भित्र्याउने नीति जापानको मन्त्रिपरिषद्ले मङ्लवार पारित गरेको छ। सो नीतिसँगै नेपाली नागरिकहरूलाई पनि जापान जाने बाटो खुलेको हो।
आगामी पाँच वर्षमा जापानले नयाँ नीतिमार्फत् झन्डै तीन ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने योजना बनाएको छ।सन् २०१९ को एप्रिल महिनाबाट कार्यावन्वयनमा आउने भनिएको सो नीतिअनुसार विदेशी कामदारहरूले १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न पाउनेछन्। ती कामदारहरूलाई मुख्य रूपमा नर्सिङ, सरसफाइ, उत्पादनमूलक क्षेत्र, होटल, कृषि, माछा मार्ने तथा खाद्यप्रशोधन आदि क्षेत्रमा रोजगारी दिइने जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
जापानले चीन, इण्डोनेसिया, मंगोलिया, म्यान्मार, नेपाल, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट कामदार लैजान लागेको हो। यी देशबाट लैजाने कामदारलाई नर्सिङ, उत्पादन, होटल, कृषि, माछापालन, खाद्यान्न उत्पादन तथा सेवालगायत १४ वा औद्योगिक क्षेत्रमा रोजगार दिनेछ।
जापानले अदक्ष कामदार (ब्लु–कलर) लाई पहिलोपटक श्रम भिसामा विदेशी कामदार लैजान लागेको हो। यसअघि नेपालबाट औद्योगिक प्रशिक्षार्थीका रुपमा कामदार लैजाने गर्थ्यो। जापानमा कामदारले महिनामा कम्तीमा ३ लाख नेपाली रुपैयाँ कमाउँछन्।
नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डअनुसार श्रम सम्झौता गरेर मात्रै कामदार पठाउने संवाद जापानसँग गर्दै आएको छ। दुई देशबीच सम्झौतामा थप छलफल गर्न जनवरीको तेस्रो साता जापानको टोली नेपाल आउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
विदेशी श्रमिक प्राप्त गर्ने देशहरूको सूचीमा नेपाललाई समावेश गर्न यसअघि नै परराष्ट्र मन्त्रालयमार्फत् बारम्बार छलफल भएको थियो। जापानले विदेशी कामदारका लागि लिएको अहिलेसम्मकै ठूलो भनिएको यस नीतिअन्तर्गत त्यहाँको सरकारले ३.४ अर्ब जापानी युआन विदेशमा आफ्नो भाषा शिक्षाका लागि खर्च गर्ने जनाइएको छ । जापान जाने विदेशी कामदारले न्युनतम जापानिज भाषा एन ४ लेवल पास गर्नुपर्ने जनाइएको छ ।