पुस १२, काठमाडौं । वैदेशिक रोजगार विभागमा मंसिर महिनामा ४ करोड भन्दा बढीको वैदेशिक रोजगार ठगीका उजुरी परेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर महिनामा परेका व्यक्तिगत ठगीका ४३ र संस्थागत तर्फका ४८ गरी परेका ९१ वटा उजुरीमा उक्त विगो रकम दावी गरिएको हो ।
व्यक्तिगत ठगीका ४३ वटा उजुरीमा २ करोड ५३ लाख ७२ हजार रुपैयाँ र संस्थागत तर्फका ४८ वटा उजुरीमा १ करोड ५७ लाख ३१ हजार ८ सय ५७ हजार रुपैयाँ विगो दावी गरिएको विभागले जनाएको छ । संस्थागत अर्थात म्यानपावर कम्पनीको तुलनामा व्यक्तिगत रुपमा परेका उजुरीको संख्या कमी देखिए पनि व्यक्तिगत ठगीको उजुरी अत्यन्तै न्यून मात्रामा फरफारक हुने गरेको विभागको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक वर्षको ५ महिनामा परेका व्यक्तिगत तर्फका ३ सय २१ उजुरी मध्ये ४२ वटा मात्र अर्थात् करिव १३ प्रतिशत उजुरी मात्र फरफारक भएका छन् । विभागले हालसम्म ५९ वटा उजुरीमा वैदेशिक रोजगार न्यायाधीकरणमा ठगी मुद्धा दायर गरेको छ । त्यसमा ८ करोड १७ लाख १४ हजार बराबरको विगो दावी गरिएको छ ।
मंसिर मसान्तसम्म विभागमा व्यक्तिगत तर्फ ३ सय २१ र संस्थागततर्फ ४ सय ३४ उजुरी गरी ७ सय ५५ उजुरी परेका छन् । दुबैतर्फ गरी चालु आर्थिक वर्षको ५ महिनामा ३२ करोड ६४ लाख ९१ हजार २ सय ५२ रुपैयाँ विगो दावी गरिएको छ । त्यसमध्ये व्यक्तिगत तर्फ १७ करोड ५३ लाख ७४ हजार बराबरको रकम दाबी गरिएको छ ।
यस अवधिमा व्यक्तिगत तर्फ ४२ वटा उजुरी फरफराक गर्दै ३ करोड ५५ लाख ११ हजार रुपैयाँ बिगो भराई दिएको विभागले जनाएको छ। मंसिर महिनामा मात्रै विभागले व्यक्तिगत ठगी तर्फको ४ वटा उजुरीमा ४३ लाख ७० हजार रुपैया असुल उपर गराई दिएको छ ।
संस्थागततर्फ ५ महिनाको अवधिमा १५ करोड ११ लाख १७ हजार बिगो माग दाबीसहित ४ सय ४३ उजुरी दर्ता गराएकोमा विभागले २ सय १२ वटा उजुरी फरफराक गराउँदै २ करोड ४६ लाख बिगो भराई दिएको छ। व्यक्तिगत तर्फका उजुरीलाई वैदेशिक रोजगार न्यायाधीकरणमा ठगी मुद्धा दायर गरेपनि संस्थागत कुनै पनि उजुरीहरुलाई विभागले न्यायाधीकरणमा लागेको छैन । संस्थागत उजुरीहरुलाई विभाग, म्यानपावर व्यवसायी र उजुरीकर्ता विच त्रिपक्षिय छलफलबाट विभागले मिलाउंदै आएको छ ।