२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन सातापछि उपत्यकामा चहलपहल

२०७७, २५ भाद्र बिहीबार ११:३२

 भदौ २५, काठमाडौँ (रासस) । काठमाडौँ उपत्यकामा तीन हप्तापछि पुनः चहलपहल शुरु भएको छ । कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न तीन साताअघि जारी गरिएको निषेधको आदेशमा केही खुकुलो बनाइएपछि आजदेखि यहाँको बजार, कलकारखाना, उद्योग तथा व्यवसाय चलायमान हुन थालेका हुन् ।

सवारीसाधन जोरबिजोर प्रणालीअनुसार सञ्चालनमा आएको छ । सङ्क्रमण रोक्न गएको चैत ११ गते सरकारले जारी गरेको बन्दाबन्दीपछि चार महिना मुलुकको आर्थिक क्षेत्र ठप्प हुन पुगेको थियो । साउन ६ गतेबाट बन्दाबन्दी हटाइएपछि कोभिड–१९ को सङ्क्रमण एक्कासि बढ्दा पुनः मुलुकका विभिन्न जिल्लाले स्थानीय प्रशासन ऐन, २०२८ र सङ्क्रामक रोग ऐन, २०२० को अधिकार प्रयोग गरेर निषेधको आदेश जारी गरेको थिए । कतिपय जिल्लाले अझै निषेधको आदेश कायमै राखेका छन् भने कतिपय जिल्लाले खुकुलो बनाउँदै लगेका छन् । 

निषेधाज्ञा जारी गरिएपछि पनि आशातीत रूपमा सङ्क्रमण दरमा कमी आउन नसकेको तथ्याङकले देखाएको छ । त्यसैले पनि स्थानीय प्रशासनले आदेशमा केही होलो गर्दै स्थानी समुदायलाई आफैँ सतर्क बन्न अनुरोध गरेको छ । 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जनजीवन प्रभावित भएकाले आदेशमा केही हेरफेर गरी खुकुलो बनाइएको र आर्थिक क्षेत्रलाई सहजीकरण गरिएको बताउनुभयो । “अब आफैँ सचेत हुनुको विकल्प छैन”, प्रजिअ दाहालले भन्नुभयो, “स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर सावधानी अपनाउने हो भने सङ्क्रमण रोक्न सकिन्छ ।” 

काठमाडौँ उपत्यकामा निषेधाज्ञाका कारण जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै स्थानीय प्रशासनले आजदेखि लागू हुने गरी केही हेरफेर गरेर नयाँ आदेश जारी गरेको हो । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा उक्त आदेश जारी भएपछि व्यापार, व्यवसाय तोकिएको समयमा खुल्न थालेका छन् । मानिस र यातायातका साधनको चहलपहल ह्वात्तै बढेको छ । 

निषेधाज्ञा जारी भएपछि भदौ ४ गतेबाट यहाँको व्यवसाय ठप्प भएको थियो भने अत्यावश्यक बाहेकको आवागमनमा समेत रोक लगाइएको थियो । आजदेखि भने बढी जमघट हुने क्षेत्रबाहेकका गतिविधि सञ्चालनमा सहजीकरण गरिएको छ । भदौ ३१ गते राति १२ बजेसम्मका लागि लागू गरिएको आदेशपछि भने मजदुरहरु समेत खुसी भएका छन् । काठमाडौँको रत्नपार्कमा भेटिएका किसन नेपाली अब भने कतै न कतै मजदुरी गर्न पाइने आशा पलाएको बताउनुहुन्छ ।

आदेशानुशार यसपालि १६ सिट क्षमताभन्दा बढी क्षमताका सार्वजनिक यात्रुबाहक सवारी साधन, भाडाका ट्याक्सी र निजी सवारीसाधन जोरबिजोर प्रणालीअनुसार  सञ्चालन गर्न पाइने छ । औषधि र पानीजन्य व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्न पाउने, खाद्यवस्तु, दूध, तरकारी फलफूल, माछामासुको व्यवसाय बिहान ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाउने नयाँ व्यवस्था गरिएको छ । विकास निर्माणसम्बन्धी पसल, व्यवसाय तथा ढुवानीका लागि सञ्चालन हुने छोटो दूरीका सवारी साधन मध्याह्न १२ बजेदेखि साँझ सात बजेसम्म तथा सहकारी संस्थाहरु ११ बजेदेखि ३ बजेसम्म सञ्चालन गर्नुपर्ने छ । 

सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसललगायतका पसल सोमबार, बुधबार र शनिबार मात्रै खोल्न पाइनेछ भने भाँडा, भान्साजन्य र सोही प्रकृतिका अन्य पसल आइतबार, मङ्गलबार र शुक्रबार तथा फर्निचर र अटोमोबाइलसम्बन्धी पसल सोमबार र बुधबार मात्रै सञ्चालन हुनेछ ।  

फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी, इलेट्रिकल्स, इलेक्ट्रोनिक्स, डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म खोल्न सकिनेछ । सवारी साधन सम्बन्धीवर्कशप बिहान ८ देखि राति ८ बजेसम्म सञ्चालन हुनेछन् । टेक–अवे सेवा तथा होमडेलिभरी सेवा भने दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । उद्योग कलकारखाना सञ्चालन गर्दा कामदार र कर्मचारीलाई आयोजनास्थलमै बस्ने, खाने व्यवस्था मिलाउन भनिएको छ । 

खुला स्थानमा भीडभाड, सभा जुलुस गर्न गराउन, जात्रा, मेला, महोत्सव, भोजभतेर सञ्चालन गर्न, धार्मिक क्षेत्रमा दैनिक नित्य पूजाबाहेकका गतिविधि, बढी भिडभाड हुने उद्योग, कलकारखाना, व्यापार, व्यवसाय सञ्चालन गर्न भने निषेध गरिएको छ । 

यस्तै चाडपर्वलगायत धार्मिक तथा सांस्कृतिक कार्यक्रममा हुने जमघट, शैक्षिक संस्था सञ्चालन, सबै प्रकारका गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, ब्यूटीपार्लर, सैलुन, स्पा, स्विमिङ पुल जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय चिडियाखाना तथा सङ्ग्रहालय सञ्चालनमा पनि रोक लगाइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ