काठमाडौँ | अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की पठाउने व्यक्ति मानसिक रूपमाा बिरामी रहेको मुम्बई प्रहरीले जनाएका छन् । मुम्बई प्रहरीले भारतीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार सलमानलाई धम्कीपछिको अनुसन्धानका क्रममा गुजरातको वडोदराबाट २६ वर्षीय मयंक पाण्ड्यालाई नियन्त्रणमा लिइएको हो । पाण्ड्याले सलमानलाई ह्वाट्सएपमार्फत् ज्यान मार्ने धम्की दिएको आरोप छ ।
प्रहरी अधिकारीहरूका अनुसार पाण्ड्या मानसिक बिरामी थिए । अहिले उनको उपचार चलिरहेको छ। पाण्ड्याले मुम्बई ट्राफिक प्रहरीको ह्वाट्सएप हेल्पलाइनमा पठाएको सन्देशमा लेखिएको थियो, ‘हामी तिम्रो घरमा छिर्छौं र तिमीलाई मार्छौं ।’ साथै उनले सलमानको कारमा बम राखिएको दाबी पनि गरेका थिए ।
यसअघि सलमानले पाएको धम्कीहरूमा पनि यस्तै प्रकारको भाषा प्रयोग गरिएको थियो । सलमान खान हाल मुम्बईको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्टमा आफ्नो परिवारसँग बसोबास गर्दै आएका छन् । उनी लामो समयदेखि लरेन्स विश्नोई गिरोहको निशानामा छन् । गत दुई वर्षमा सलमानले यस प्रकारको पाँचौं पटक धम्की पाएका हुन् । गत वर्ष उक्त गिरोहका सुटरहरूले उनको घर अगाडि गोली चलाएपछि उनको सुरक्षामा थप कडाइ गरिएको थियो ।