पढ्न करिब 2 मिनेट लाग्छ

कार्तिक १९, जाजरकोट | भेरी नगरपालिका–३, स्याला जाजरकोटका २३ वर्षीय रूपक विश्वकर्माका भाइ शुक्रबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको घेत्मामा लाग्ने मेला हेर्न जानुभएको थियो। भाइ नआएपछि रूपक अबेलासम्म बुवाआमासँगै कुरा गरेर बसे।

रुकुमको जिल्ला अस्पताल सल्लेमा उपचार गराउन आएका रूपकले भने, “भाइ नआएपछि निदाउन थालेको थिएँ। एक्कासि छतबाट माटो ओइरिए जस्तो भयो। जुरुक्क उठ्न खोजेँ, पिङ मच्चिए जसरी खाट मच्चियो। अनि नराम्ररी भित्तामा उछिट्टिएर भुइँमा लडेँ।”

उनले थपे, “उठ्न खोज्दै थिएँ, माथिबाट काठ, माटो र ढुङ्गा खसेर थिच्यो। एक हात टाउकोमाथि राखिरहेँ। काठ, माटो, ढुङ्गाले मलाई पुर्दै गयो। यस्तैमा म त अचेत भएँछु। अलिपछि झिलिक झिलिक बत्ती बले जस्तो भयो। आँखा खोलेँ। मुख पनि माटोले बन्द गरेको जस्तो भयो। जोडले श्वास बाहिर फालेँ, माटो निस्कियो। अब त मरिने रैछ भन्ने लागेको थियो।”

भूकम्प रोकिएपछि एक हातले बिस्तारै शरीरको माटो, ढुङ्गालाई हटाएको उनले बताए। उनको अनुहार, टाउकोलगायत शरीरका अन्य अङ्गमा चोट लागेको छ। रूपकले भने, “बल गरेर उठेँ। गाउँमा कोलाहल थियो। बुवाआमा भएको कोठामा गएँ। केही भइहाल्यो कि भन्ने ठुलो डर थियो। घरको माथिल्लो तला नै भासिएर उहाँहरू त तल्लो तलामा झर्नुभएछ। घरको सबै काठ, माटो, ढुङ्गाले उहाँहरू पुरिनुभएछ। मलाई के गरौँ, कसो गरौँ भइरहेको थियो। आमाले बचाऊ, बचाऊ, भन्दै गुहार मागिरहनुभएको थियो।”

बेल्चा लगाएजसरी हातैले माटो, ढुङ्गा र काठ पन्छाएर आमाको कपाल फेला पारेको उनले सुनाए। औँलाले कोदालाले खनेजसरी आमाको वरिपरिको माटो हटाएको र आमालाई निकालेपछि बुवालाई खोजेको उनले स्मरण गरे तर आमालाई निकाल्दै औँलाबाट रगत चुहिन थालेको थियो।

यस्तैमा भाइ पनि चिच्याउँदै आइपुग्यो तर सुरु सुरुमा बचाऊँ, बचाऊँ, भनेर कराउने बुवाको आवाज बिस्तारै दबिँदै गएको थियो। बुवाको सासै रोकियो कि भन्ने डरले उनलाई सतायो।

“बुवाको वरिपरिको माटो, काठ र ढुङ्गा हटाउँदै गएँ,” उनले भने, ‘छिमेकका पाँच जना साथीलाई बिन्ती गरेर ल्याएपछि बुवालाई निकाल्न सकियो। बेहोस अवस्थामा रहेका बुवाको नाक र मुखभरि माटो कोचिएको थियो।

खोक्दा नाक र मुखको माटो एक्कासि निस्कियो अनि बुवा ज्युँदै हुनुहुन्छ भन्ने भयो।” हामी चाइनबगर पुल तरेर रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ आइपुग्यौँ| त्यतिन्जेल रुकुमपश्चिमको भागमा उद्धारका लागि ल्याइएका एम्बुलेन्स आइसकेका थिए। गाउँमा धेरै जना उपचारका लागि यही आयौँ। रूपकले भने, “अहिले मेरो बुवा डण्डवीरको अवस्था ठिक भएपछि डिस्चार्ज भएर जानुभयो। म र आमा कल्पना अस्पतालमै छौँ।” यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।