माघ १७, काठमाडौं | मलेसियाबाट कैलालीका प्रह्लाद राना, सल्यानका केशर पुन र जाजरकोटबाट लालबहादुर थापाको शव त्रिभुवन विमानस्थलमा आइपुग्यो । शव बाहिर निकाल्ने फरक बाटो थिएन । मृतकका आफन्तले यात्रु निस्कने मूल ढोकाबाटै कफिन निकाल्दै थिए । त्यो देखेर विदेशबाट आएका यात्रु र उनीहरूलाई पर्खिबसेका आफन्तको मन चिसो भयो । भन्दै थिए, ‘कफिन त अर्कै बाटो लैजाने व्यवस्था भइदिए पनि हुन्थ्योनि ।’
एउटै जहाजबाट ल्याइएका ती शव घरसम्म पुर्याउन ढोका छेउमै तीनवटा एम्बुलेन्स थिए । मेडिकल रिपोर्टअनुसार रानाले आत्महत्या गरका थिए । पुनको हृदयाघातबाट मृत्यु भएको थियो । लालबहादुरको मृत्युको कारण खुलेको थिएन ।त्यसअघि मात्रै कतारबाट ४ जनाको शव ल्याइएको थियो । जसमा थिए, सोनाम तामाङ, शेख इजराइल, मोहम्मद अकुब नदफ्फा, आइडी मोहम्मद । मेडिकल रिपोर्टमा सोनामको श्वासप्रश्वास समस्याका कारण मृत्यु भएको उल्लेख छ । शेख, मोहम्मद र आइडीको भने काम गर्ने क्रममा खसेर घाइते भएपछि मृत्यु भएको जनाइएको छ ।
वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मानिएका मुलुकबाट यसरी शव आउनु सामान्य भइसकेको छ । ती देशहरूबाट मात्रै हरक वर्षजसो एक हजारको हाराहारीमा शव आउन थालेको छ । विदेशस्थित नेपाली दूतावासहरूका अनुसार सन् २०१६ मा मध्यपूर्वका देश र मलेसियामा मात्रै ९ सय ५० नेपालीले ज्यान गुमाएका छन् । जसमा ३८ जना महिला छन् । दूतावासहरूका अनुसार मलेसियामा ३ सय ९२, साउदी अरबमा २ सय २९, कतारमा १ सय ७६, संयुक्त अरब इमिरट्स (यूएई) मा ६६, कुवेतमा २५, दक्षिण कोरियामा २०, बहराइनमा ११, अफगानिस्तानमा १४, ओमनमा ७, इराकमा ५ जनाको मृत्यु भएको छ ।
इजरायल, लेबनान, इजिप्ट, सिरिया र साइप्रसमा एक÷एक नेपालीको ज्यान गएको छ । सबैभन्दा बढी मुटुजन्य रोग, हृदयाघात र उच्च रक्तचापबाट ५ सय जना, ट्राफिक दुर्घटनाबाट १ सय ७३, आत्महत्याबाट १ सय १३, कार्यक्षेत्रदुर्घटनामा ६२, विभिन्न जटिल रोगबाट ६७, नखुलेकोबाट १८, हत्याबाट १७ र बच्चा जन्माउन नसक्दा एक महिलाको मृत्यु भएको हो ।