२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केपी ओली कसरी राजनीतिमा आए ?

२०७४, १५ मंसिर शुक्रबार ०२:२५

मंसिर १५, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अन्तर्वार्ता आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । विजय कुमारले ओलीसँग अन्तर्वार्ता लिएका हुन् । अन्तवार्ताको केही अंश यस्तो छ ।

तपाईंको जीवनका केही निर्णायक घुम्तीहरूबारे स्मरण गर्न सक्नु हुन्छ ?

‘जरुर। म आठ वर्षको थिएँ। गाउँमा पण्डित बाजे पुराण भन्दै थिए- ‘फलाना राजाले बर्खायामभरि पर्ने पानीका थोपाभन्दा धेरै गाईहरू दान गरे रे।’ पण्डितजीका कुरा मैले पचाउन सकिनँ । म आफैं गोठालो जाने मान्छे। त्यसैले सोधें- ‘त्यतिका धेरै गाई राख्ने, बाँध्ने ठाउँ कसरी सम्भव छ ? तपाईंका कुरा पत्याउन सक्दिनँ म।’ पण्डितजी आगो भए । 

तथानाम गाली गरे मलाई। त्यस दिनदेखि मैले शास्त्रमा लेखिएको छ भन्दैमा कुनै पनि कुरालाई जस्ताको त्यस्तै पत्याउन छोडिदिएँ, चाहे त्यो जुनसुकै धार्मिक शास्त्र होस् वा राजनीतिक शास्त्र। मलाई लाग्छ कुनै पनि खाले शास्त्र र पुराणलाई, समय कालको पृष्ठभूमिमा राखेर मात्र बुझिनुपर्छ।

अर्को निर्णायक घुम्ती ?

‘म तेह्र वर्षको हुँदो हुँ। गाउँका ठालुले पञ्चायतमा एक गरिबका विपक्षमा अन्यायपूर्ण फैसला गरे । मैले विरोध गरें । उनले मलाई नराम्ररी हप्काए । बंगारा फुस्काउने धम्की दिए। मैले सहन सकिनँ । तिनको कठालो समातें । तिनी त्यहाँबाट गए। धेरैले मलाई सम्झाए, ठूला मान्छेलाई त्यसो गर्नु हुन्न भनेर । तर त्यो दिनदेखि मेरा निम्ति ठूला मान्छे शब्दको परिभाषा फेरियो । 

मान्छे ठूलो जन्म र जातले होइन कर्मले हुन्छ भन्ने विश्वास पलायो । त्यसै उद्देश्यका निम्ति काम गर्नुपर्छ भन्ने विचारको बिउ रोपियो मनमा। केही समयपछि म राजनीतिमा लागें।

भारतका सम्बन्धमा तपाईंका दृष्टिकोणहरूमा निरन्तरता छ कि मौसमअनुसार तात्ने र सेलाउने बानी छ ?

म एक देशभक्त नेपाली हुँ। नेपालको भूमि, नेपाली जनताको स्वाभिमान र भलाइप्रति बफादार छु। मैले अन्त कतैको शपथ गरेको छैन, नेपालको गरेको छु। हो, मैले पाहुना भएर अन्त खाएको पनि हुँला। पाहुना बफादार हुँदैन धेरै। आफ्नो घरप्रति बफादार हुने हो। 

कोही पाहुना आयो, तपाईंले उसलाई नास्ता गराउनु भयो भन्दैमा उसबाट धैरै बफादारीको अपेक्षा गर्नु पनि हुन्न। ऊ आफ्नै घरप्रति बफादार हुन्छ भन्ने सोच राख्नु बुद्धिमानी हुन्छ। मेरो कुरा त्यही हो।

मैले हाम्रो देश, हाम्रो भूस्थिति, हाम्रा छिमेकीहरूको अर्थ राजनीतिक व्यवस्थाहरू पनि बुझेको छु। उनीहरूसँग मैत्री सम्बन्ध राखेर मात्रै हाम्रो हित हुन्छ भन्ने पनि मलाई थाहा छ। 

छिमेकीसँग अनावश्क झमेला बोक्नु हुन्न भन्ने मलाई थाहा छ। हामी कुनै छिमेकीका विरुद्ध केही गर्न सक्ने हैसियतका पनि छैनौं। हामी कसैको कुभलो चिताउन्नौं। हामी फगत आफ्ना हितको रक्षा गर्छौं। यो कुरा हाम्रो कुनै दाउपेच होइन। तर छिमेकीले पनि सम्मानजनक व्यवहार गरून् भन्ने अपेक्षा गर्नु हाम्रो गल्ती हो र ? म विनम्रतापूर्वक भन्न चाहन्छु छिमेकीहरूलाई- सके हामीलाई मद्दत गर्नुस्। नसके हाम्रा आन्तरिक मामिलामा हात हालेर स्थिति नगिजोलिदिनुस्।

अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा म तीन कुरा भन्छु। पहिलो, हामीले सबैले आआफ्नो राष्ट्रिय हितलाई हेर्नुपर्छ। दोस्रो, आआफ्नो राष्ट्रिय हित हेर्दा त्यसभित्र न्याय हुनुपर्छ। 

मेरो ज्याकेट खोसेर लगेर तपाईंको भलो होला, न्यानो होला। तर मलाई त जाडो हुन्छ नि। न्याय त हुनुपर्‍यो नि। तेस्रो, अन्तर्राष्ट्रिय कानुन र मान्यताहरूको पनि सबैले ख्याल गर्नुपर्छ। 

ठूलाठूला देशहरूको प्रतिस्पर्धा होला। भारत र चीनको होला रे। वा अरूको होला रे। हामी सानालाई त्यसमा फस्नु छैन। हामीलाई त बाटो देऊ साथी हो, थिचोमिचो नगर, रगडामा नफसाऊ भन्ने चाहना मात्र छ।

विगत पचासौं वर्षदेखि जुन नीति भारतले नेपालमा अख्तियार गर्‍यो, त्योबापत के पायो त ?

केही पनि पाएन। केही मान्छेहरू… केही एजेन्सीका मान्छेको अहम् तुष्टि भयो होला, अरू केही भएन। दुवै देशका जनता विकासका अपार सम्भावनाबाट वञ्चित रहे। 

दुईचारजना मानिसको खुद्रा स्वार्थका कारण दुई देशका बीचमा यत्रो तनाव देखियो, जुन तनाव देखिनुपर्ने कुनै कारण नै छैन। होला, सीमा क्षेत्रमा सानातिना समस्या आउने जाने गरिरहन्छन् तर अब मूलभूत कुराहरूमा खुलस्त रूपले रियलाइज गरेर अगाडि जानुपर्छ। पारस्परिक लाभ, पारस्परिक सम्मान बढाउनु पर्छ, त्यसैबाट पारस्परिक विश्वासको वातावरण बन्छ। त्यसका लागि हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप हुनु हुँदैन।

अब हाम्रो ताजा राजनीतिका केही प्रश्न सोधौं। अहिले जुन गठबन्धन तपाईंहरूले बनाउनु भएको छ, त्यो ‘वाम गठबन्धन’ हो या ‘कम्युनिस्ट गठबन्धन’ हो ? के नेपालमा अब साम्यवादी व्यवस्था ल्याउने सुरमा हुनुहुन्छ ?

यो वस्तुतः ‘कम्युनिस्ट गठबन्धन’ पनि होइन र यो ‘वामपन्थी गठबन्धन’ पनि होइन। कम्युनिस्ट हाम्रो पार्टीको नाम हो। तपाईंको नाम ‘विजय’ हो। तपाईंको नाम विजय हुँदैमा तपाईंले हर पटक जित्ने हो र ? हर पटक जित्ने हो भने त तपाईंसित हर पटक भेट्नेबित्तिकै मैले जितौरी माग्नु पर्‍यो नि। तपाईंको नाम मात्र त विजय हो। हो, त्यसैगरी एउटा सन्दर्भमा पार्टीका नामहरू राखिएका हुन्छन्।

‘साम्यवाद’ एक ज्यादै सुन्दर कल्पना हो, उच्चतम मानवीय समाजको सृजना गर्नका निम्ति गरिएको परिकल्पना हो। हाम्रो सरदर भाषामा राम राज्य हो। कल्पवृक्ष जस्तो। 

तर के अहिलेकै अवस्थामा त्यहाँ पुग्न सकिन्छ ? सकिँदैन। तर त्यो सुन्दर दूर उद्देश्यका लागि कल्पना त गर्न पाइन्छ नि। अरूको त कुरै छोडौं, मेरो आफ्नै पार्टीका कतिपय मान्छे पनि त्यो दूर उद्देश्य प्राप्तिका लागि कति इमानदार र योग्य छन्, म भन्न सक्दिनँ।

हालका लागि बुझ्न सजिलो होस् भनेर म कम्युनिस्टहरूलाई तीन प्रकारले विभाजन गर्छु। फिलोसफिकल कम्युनिस्ट, आइडियोलजिकल कम्युनिस्ट र पोलिटिकल कम्युनिस्ट। अहिलेका अधिकांश कम्युनिस्ट पोलिटिकल कम्युनिस्ट हुन्। 

आवश्यकता, लाभ, फाइदा, विकास आदिका लागि कम्युनिस्ट भएकाहरू। अहिले नेपालमा अधिकांश पोलिटिकल कम्युनिस्ट छन्। नेपालमा मात्र होइन संसारमै यस्तो छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै