के-के समेटिए एमालेले प्रधानमन्त्रीलाई बुझाएको ७५१ बुँदे ध्यानाकर्षण पत्रमा?

Posted on: 23 Jan, 2024

माघ ९, काठमाडौँ | नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालले मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा प्राप्त गरेको जनताका माग र समस्या जनताको नासो भएको बताएका छन्।

एमालेले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझाव समेटिएको ध्यानाकर्षण–पत्र प्रधानमन्त्रीलाई बुझाएको हो।

यात्राको क्रममा आएका माग र सुझावलाई समेटेर एमालले तयार गरेको ध्यानाकर्षण–पत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाए पछि पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले ती माग जनताको नासो भएको बताए।

‘सङ्कल्प यात्राका क्रममा जनताबाट प्राप्त भएका माग, सुझाव, गुनासोहरू र पार्टीले यो अभियानको क्रममा अनुभूत गरेको त्यहाँका सम्भावना र चुनौतीका विषय समेटेर ध्यानाकर्षण–पत्र बुझाएका छौँ, ध्यानाकर्षण–पत्रका विभिन्न राजनीतिक दल, सङघसंस्था, स्थानीय तह, व्यवसायीक क्षेत्र र व्यक्तिगत रूपमा समेत प्राप्त भएका यी ध्यानाकर्षणहरू जनताको नासो हो भनेर हामीले उल्लेख गरेका छौँ, यिनलाई सम्बोधन गर्नु राज्यको दायित्व हो भन्ने कुरालाई उल्लेख गरेका छौँ’, उनले भने।


मङ्सिर १४ देखि पुस १ गतेसम्म मध्यपहाडको झुलाघाटदेखि चिवाभञ्ज्याङ सम्मको १८ दिने यात्राका क्रममा स्थानीय रूपमा प्राप्त भएका ४६ वटा विषयका ७ सय ५१ वटा माग एमालले प्रधानमन्त्रीलाई बुझाएको छ। जसमा सडक पूर्वाधार, अस्पताल, विद्यालय, मोटरेवल पुल, कृषि, पशुपालन, विद्यालय र उत्पादित कृषि वस्तुको बजार व्यवस्था सम्बन्धी विषय छन्।


सो ध्यानाकर्षण–पत्रमा मध्यपहाडी लोकमार्गको एलाइन्मेट चेञ्जका योजना समेत उल्लेख गरिएको ज्ञवालीले जानकारी दिए। मध्यपहाडी लोकमार्गमा बन्न लागेको १० ठुला सहरका काम रोकिएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको उनले बताए। यी विषयको कार्यान्वयनको लागि पार्टीको तर्फबाट पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई जिम्मेवारी तोकिएको समेत प्रधानमन्त्रीलाई जानकारी गराएको ज्ञवालीले बताए।

एमालेको सङ्कल्प अभियानको क्रममा प्राप्त जनसमर्थन लोकतन्त्र र गणतन्त्र प्रतिको जनसमर्थन भएको ज्ञवालीले प्रष्ट पारे। ‘अभियानको क्रममा प्राप्त जनसमर्थन र जनसहभागिता नेकपा एमालेको मात्र नभएर लोकतन्त्र प्रति नै, गणतन्त्र प्रति नै जनताको समर्थनको रूपमा हामीले ग्रहण गरेका छौँ’, ज्ञवालीले भने।

ध्यानाकर्षण–पत्रमा मध्यपहाडमा देखिएका विकासका सम्भावना बारे पनि प्रकाश पारिएको ज्ञवालीले बताए। पूर्वाधार विकासमा मध्यपहाड अगाडि बढ्दै गएको, फलफूल उत्पादनको राम्रो सम्भावना रहेको, खनिज, जलश्रोतको अथाह भण्डार रहेकोले मध्यपहाड समृद्धिको केन्द्र बन्न सक्ने उनले स्पष्ट पारे।

मध्यपहडाका चुनौतीका विषयमा पनि सरकारलाई ध्यानाकर्षण गराएको उनले बताए। बसाइसराइ मध्यपहाडको प्रमुख चुनौती रहेको उनले प्रष्ट पारे। बसाइसराइ रोक्नको लागि नेपालमा केही हुँदैन भन्ने मनोवृत्तिलाई चिर्न सरकारले ठोस कदम चाल्नु पर्नेमा उनले जोड दिए।

वस्तुको उत्पादन भएको भए पनि त्यसले उचित मूल्य नपाएको कुरामा सरकारको ध्यानाकर्षण गराएको ज्ञवालीले जानकारी दिए। त्यस्तै वन्यजन्तुले बाली नष्ट गर्दा खेती नै लगाउन छाडेको प्रति पनि सरकारको ध्यानाकर्षण गराएको उनले बताए।

मध्यपहाडको यात्राको क्रममा अहिले पनि भूमिहीन सुकुम्वासीको समस्या देखिएकोले त्यसको समाधानमा ठोस कदम चाल्न सरकारलाई एमालले सुझाव दिएको छ। त्यस्तै जलवायु परिवर्तनले पारेको प्रभाव नियन्त्रणका लागि सरकारलाई जिम्मेवार बन्न अनुरोध गरिएको उनले बताए।

कर प्रशासकहरूको अति रुखो व्यवहार, भ्रष्टाचार र बेथितिले गर्दा व्यवसाय बन्द हुँदै गएका, विकास निर्माणका काम ठप्प भएका, बजेट विनियोजनमा पूर्वाग्रह राखिएको, एमालले सुरु गरेका केही राष्ट्रिय महत्वका योजनालाई पूर्वाग्रह राखी असफल बनाउने प्रयास भएको प्रति पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको ज्ञवालीले बताए।

जाजरकोट भूकम्प पीडितको व्यवस्थापन र पुनर्निर्माणमा सरकार असफल भएको पनि उनले बताए। सरकारले अस्थायी आवास र न्यानो कपडा व्यवस्थापन गर्न नसक्दा ३४ जना  भूकम्पपीडितको कठाङ्ग्रिएर ज्यान जानु लज्जाको विषय भएको ज्ञवालीले बताए। यस विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको उनले बताए।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!