2026-07-06 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

डिभोर्स गर्दै थिइन्, प्रहरीलाई ‘अब पतिसँग बस्न सक्दिनँ’ भनेकै दिन मारिइन्

भदौ २७, काठमाडौँ । पोखरामा श्रीमान्‌को खुकुरी प्रहारबाट मारिएकी ४० वर्षीया राधिका कुँवरले त्यसअघि सम्बन्ध विच्छेदका लागि कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको तथा घटनाकै दिन बुधबार बिहान मात्र पतिको ज्यादतीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा मौखिक उजुरी गरेको खुलेको छ।

वैदेशिक रोजगारीबाट फर्केका श्रीमान्‌  ४२ वर्षीय जहरसिंह कुँवरले दिनहुँ सानो निहुँमा पनि कुटपिट गर्न थालेपछि राधिकाले सम्बन्ध विच्छेदका लागि गत असारमै  अदालतमा मुद्दा दर्ता गराएकी थिइन्। तर, मुद्दा विचाराधीन अवस्थामै रहेका बेला जहरसिंहले बुधबार खुकुरीले हानेर पत्नी हत्या गरेका हुन्। 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कास्की अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ नौडाँडा घर भई कुँवरटोल बस्ने गरेका जहरसिंहले बुधबार दिउँसो श्रीमती राधिकाको घाँटी र पेटमा खुकुरी हानी हत्या गरेका हुन्। उनलाई बुधबारै प्रहरीले नियन्त्रणमा लिइसकेको छ। 

कास्की प्रहरी प्रमुख, एसपी मोहनकुमार थापाका अनुसार राधिकाले यसअघि पनि मौखिक रूपमा जहरसिंहविरुद्ध तीनपटकसम्म जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको पनि पत्ता लागेको छ ।

‘बुधबारै (हत्याकै दिन) पनि राधिका जिल्ला प्रहरी कार्यालय कास्कीमा आएकी रहिछन्। मेरो श्रीमान्‌सँग बस्न सक्दिनँ। मेरो सरसामान श्रीमान्‌ले दियो भने म अन्यत्र गएर बस्छु भनेको अवस्था रहेछ र बिहान हाम्रो अफिस पनि राम्रोसँग नखुल्दै आएको भन्ने बुझिएको छ। तिनै महिला हुन् या अर्को महिला हो त्यो हामी बुझ्दै छौँ’, एसपी थापाले भने,‘हामीले थप अनुसन्धान गर्दा यिनीहरूको डिभोर्सको मुद्दा जिल्ला अदालतमा अहिले विचाराधीन अवस्थामा रहेछ र श्रीमान् जहरसिंह लामो समय कतारमा बसेको रहेछ। अहिले डिप्रेसनको औषधि खाने र बेरोजगार रहेको पायौँ। श्रीमतीको आफ्नै पेसा/व्यवसाय रहेछ। उनीहरूबीच लामो समयदेखि आन्तरिक विवाद पनि देखियो र त्यो घरमा मात्रै सीमित नभई प्रहरीसम्म आइपुगेको रहेछ।’


अन्य मुद्दा नहाल्ने र सम्बन्ध विच्छेदकै प्रक्रिया अगाडि बढाउने राधिकाकै चाहनाले कारबाही प्रक्रिया अगाडि नबढाइएको पनि उनले बताए।

‘मौखिक रूपमा महिलाले घरेलु हिंसाविरुद्ध उजुरी गरेको र प्रहरीले मौखिक रूपमै श्रीमान्‌लाई बोलाएको देखिएको छ’, उनले भने,‘बुधबार बिहान पनि घटनाबारे राम्रोसँग सोधखोज गर्न नपाएको र महिला आफ्नो कुरा सुनाएर बाहिर निस्केको पाइएको छ।’

प्रहरीले जहरसिंहविरुद्ध घरेलु हिंसाको मुद्दा दर्ता गर्न सुझाव दिँदा राधिकाले ‘सम्बन्ध विच्छेद गर्छु, मुद्दा हाल्दिनँ’ भनेको एसपी थापाको दाबी छ। 

तर, पुरुषले अदालतको आदेश नआउँदासम्म सँगै बस्ने भन्दै राधिका छाड्न नमानेको छिमेकीको भनाइ छ।

त्यही कारण राधिका मुद्दा दर्ता गरे पनि बाध्य भएर जवरसिंहसँग बसिरहेकी थिइन्। छिमेकीका अनुसार उनीहरूबीच दैनिक झगडा हुन्थ्यो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राधिका निस्केपछि केही गर्ने अवस्था थिएन। उनी निस्किको करिब तीन घण्टापछि प्रहरी कार्यालयमा फोन आयो। उताबाट पोखरा ८ कुँवरटोलमा ‘श्रीमान्‌ले श्रीमतीको हत्या गरेको जस्तै छ’ भनियो। प्रहरी तत्काल घटनास्थल पुग्यो।

कोठाको कुनामा एक महिला रक्ताम्य र अचेत अवस्थामा थिइन्। अर्को कोठामा चाहिँ एक पुरुष लोबेड (सानो खाट) मा बसेर मोबाइल चलाइरहेका थिए। अचेत भएकी महिला तिनै राधिका थिइन्। जहरसिंहकै खुकुरी प्रहारबाट राधिकाको ज्यान गएको स्थानीयले बताए।

‘श्रीमतीलाई कुनामा लगेर हिर्काउँदै रहेछ। मेरो श्रीमान्‌ले छुट्याउन जाँदा नसकेर आउनुभयो। बूढीले डिभोर्स माग्ने गरेको थियो तर बूढाले मानेको थिएन। त्यस्तै कुरामा झगडा हुँदै आएको थियो’, स्थानीय एक महिलाले भनिन्, ‘बिहान भेटे बिहानै, बेलुका भेटे बेलुकै झगडा हुन्थ्यो। म त डराएर बाहिर आएँ । भित्र जानै सक्ने स्थिति थिएन ।’

उनका अनुसार खुकुरी प्रहारबाट राधिकाको घाँटी झण्डै छिनिएको अवस्थामा थियो। 

‘पेटमा पनि ठूलो चोट थियो। कोठामा रगतको आहाल छ’, ती छिमेकीले भनिन्।

जहरसिंह लामो वैदेशिक रोजगारपछि ‘डिप्रेसन’ बोकेर नेपाल फर्केका थिए। पछिल्लोपटक चाहिँ उनी एक वर्षमै वैदेशिक रोजागारीबाट फर्केका थिए। नियमित डिप्रेसनको औषधि सेवन गर्ने जहरसिंहले तीन/चार दिनदेखि औषधिसमेत नखाएको प्रहरीको प्रारम्भिक सोधपुछबाट खुलेको छ।

‘मुख्य कारण भनेको वैदेशिक रोजगार र नेपाल आएपछि बेरोजगार भएको कारणले निम्त्याएको समस्या हो भन्ने हाम्रो अहिलेसम्मको अनुसन्धानबाट खुलेको तथ्य छ। थप अनुसन्धान गर्दैछौं’, एसपी थापाले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने