२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपनिर्वाचनको प्रस्तावले नियमित कार्यसूची प्रभावित

२०७५, २५ आश्विन बिहीबार ११:३३

प्रकाश सिलवाल | असोज २५, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा ल्याउने पहलसँगै पार्टीका नियमित कार्यसूची प्रभावित भएको छ । 

उपनिर्वाचनमा गौतमलाई अघि सार्ने तयारीपछि पार्टीभित्र र बाहिरबाट व्यापक टीकाटिप्पणी व्यक्त भएपछि सो विषयमा नेकपाको सचिवालय अनिर्णित भएको छ भने शीर्ष नेताबीच आपसी आशङ्कासमेत पैदा भएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ७ का नेकपाका सांसद रामवीर मानन्धरले नेता गौतमका लागि ठाउँ खाली गर्न आफूले राजीनामा दिन तयार रहेकाले स्वीकृतिका लागि नेतृत्वलाई दिएको पत्र पार्टीको यही असोज २२ गतेको सचिवालय बैठकमा एकाएक प्रस्तुत भएपछि अन्य नियमित कार्यसूची प्रभावित भएको थियो । 

पार्टी एकतालाई तल्लो कमिटीसम्म विस्तार गर्नुपर्ने र सरकार सञ्चालन तथा समन्वयलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएका बेला उपनिर्वाचनको सन्दर्भले विषयान्तर गरेको देखिन्छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानन्धरको पत्र सचिवालय बैठकमा प्रस्तुत गरेपछि मात्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सो विषयमा जानकार हुनुभयो । सो दिनका अन्य कार्यसूचीमा कुनै निर्णय हुन सकेन । सो दिन अर्काे बैठकको कार्यसूची र स्थायी कमिटी बैठकको मिति तय गर्ने विषयमा छलफल भई यही असोज २४ गतेका लागि तोकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको थियो । प्रवक्ता श्रेष्ठले पत्रकारलाई दिएको जानकारीमा मानन्धरको पत्रबारे उल्लेख थिएन । सचिवालयको बैठक पुनः यही असोज २७ गतेका लागि सरेको छ । 

उपनिर्वाचनका विषयमा अध्यक्ष ओली र दाहालबीच बुधबार भएको भेटवार्तामा समीक्षा भएको थियो । सो दिन अपराह्न पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण कार्यक्रममा अध्यक्ष दाहालले पार्टीले हार्र्ने गरी उपनिर्वाचन नगर्ने स्पष्ट पार्नुभएको थियो । 

यही असोज ५ गतेको सचिवालय बैठकले पार्टीका प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेकामा वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्तुत गरेको असन्तुष्टिका विषयमा पनि सचिवालयको बैठकमा छलफल हुन बाँकी छ । 

मध्यमार्गी नेता सक्रिय 

नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर लान आह्वान गर्दै हाल देखिएको विवादका विषयमा अध्यक्ष, वरिष्ठ नेता नेपाल, नेता गौतम र अन्य नेतासँग अलग अलग अनौपचारिक भेटवार्ता गर्नुभएको छ । नेता पोखरेलले भन्नुभयो, “उपचुनावको विषयमा पार्टीको बैठकमा औपचारिक कार्यसूची बनाई छलफल नै भएको छैन । मानन्धरको पत्र आएको छ । त्यसमा हाल कुनै निर्णय भएको छैन ।” 

उहाँले रासससँग कुरा गर्दै भन्नुभयो, “पार्टीको साङ्गठनिक जीवनलाई व्यवस्थित बनाएर एकताको सन्देश देशव्यापी लैजानु अहिलेको आवश्यकता हो । पार्टीको संरचना क्रियाशील नहुँदा पनि साङ्गठनिक स्थितिमा अस्तव्यस्ता देखिएको छ, यो चाँडै सँग्लिएर जान्छ ।” 

प्रतिनिधिसभाको गत वर्षको निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट नेपाली काङ्ग्रेसका सञ्जयकुमार गौतमसँग पराजित हुनुभएका नेता वामदेवले पार्टी एकता, शान्ति प्रक्रिया र राष्ट्रिय राजनीतिमा भूमिका खेल्ने भएकाले प्रतिनिधिसभामा उपनिर्वाचनबाट पनि ल्याउन पहल हुँदै आएको छ । उहाँलाई यसअघि बाँके, प्यूठान, दैलेख, डोल्पालगायत जिल्लाका सांसदलाई राजीनामा गराई उपनिर्वाचनमा विजयी गराउने पहल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा