सुत्केरी र शिशुको मृत्युपछि स्थानीय आन्दोलित, उठेन शव

Posted on: 11 Apr, 2023

चैत २८, कैलाली | कैलालीको अत्तरियामा सुत्केरी महिला र शिशुको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै स्थानीय र मृतकका आफन्तहरूले आन्दोलन गरेका हुन् ।

आइतबार बिहान सुत्केरीका लागि मालाखेती अस्पताल गएकी गोदावरी नगरपालिका वडा नं. २ मा बस्ने २८ वर्षीया लक्ष्मी भट्टराईको नवजात शिशुसहित मृत्यु भएको थियो । अस्पताल प्रशासन र डाक्टरहरूको लापरबाहीका कारण लक्ष्मीको मृत्यु भएको भन्दै स्थानीय आन्दोलित भएका थिए । मृतक र उनको नवजात शिशुको शव अझै पनि उठ्न सकेको छैन । उनीहरूको शव हाल मालाखेती अस्पतालमै राखिएको छ । 

सडक अवरुद्ध गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । सडक अवरुद्ध गर्ने गरी स्थानीय आन्दोलनमा उत्रिएपछि केहीबेर तनाव सृजना भएको थियो । त्यस क्रममा प्रहरीले लाठी चार्ज गरेको थियो भने स्थानीयले ढुंगा प्रहार गरेका थिए । घटनाको छानबिन गर्ने भनिएकोमा अहिलेसम्म कुनै सुनुवाइ नभएको पीडित पक्षको आरोप छ । माग सम्बोधन नभएसम्म शव नउठाउने स्थानीयले बताएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!