साउन २४, काठमाडौँ | बागमती गाउँपालिका–५ सिक्रे दोभानको पहिरोमा परेका पाल्साङ घिसिङको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । पहिरो गएको स्थानबाट करिब ७ किलोमिटिर तल (दक्षिणतर्फ) फेला परेका उनको पहिरो गएको १४ घण्टा पछि जीवितै उद्धार गरिएको थियो ।
घर छेउबाटै बगेको सिक्रे खोल्सीले ल्याएको ढुङ्गा र माटोसहितको भेलले उनी सुतिरहेको अवस्थामा घरसहित घिसिङलाई बागमती नदीमा मिसाइदिएको थियो । बिहान ४ बजेको समयमा खोल्सीमा आएको बाढीले ल्याएको पहिरोका कारण स्थानीय अक्लबहादुर स्याङ्तानको घरको जगसहित बागमती नदीमा मिसिन पुग्यो । सोही घरमा पाहुना लाग्न गएका थिए घिसिङ ।
राति सोही घरमा सुतेका अन्य ६ जनासहित घिसिङ पहिरोमा परे । हालसम्म सो पहिरोमा परेर २ जनाको मृत्यु भइसकेको छ भने ४ जना अझै बेपत्ता रहेका छन् । भाग्य बलियो भएका घिसिङ भने पहिरो खसेको १४ घण्टापछि जीवित भेटिए ।
भनिन्छ नि, दिन बलियो भए कालले समेत भेट्न सक्दैन । सो भनाई घिसिङलाई सही साबित बन्यो । पहिरोमा परेका २ जनाले ज्यान गुमाउँदा घिसिङ भने जीवित भेटिए । उनलाई स्थानीय र प्रहरीको सहायतामा बागमती नदी बिचको बगरबाट उद्धार गरिएको थियो । बागमती नदीको उर्लिएको बाढीको छालले घिसिङलाई नदी बिचको बगरमा पुर्याएको थियो । बगरमा लडिरहेका उनलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेर उद्धार गरिएको थियो ।
मंगलबार साँझ ७ बजे उद्धार गरिएका घिसिङलाई राति नै हेटौँडा अस्पताल ल्याइएको थियो । हेटौँडा अस्पतालमा उपचाररत घिसिङ बोल्न सक्ने अवस्थामा छैनन् । अस्पतालको बेडमा सुतिरहेका घिसिङलाई आफू कसरी बाँचे भन्ने थाहा नै छैन ।
उनी भन्छन्, ‘म कसरी बाँचे मलाई थाहा छैन ।’ चोटका कारण दुःखाइ सहँदै उपचार गराइरहेका घिसिङ मानसिक पिडा मिश्रित स्वरमा उनले यति मात्रै भने ।
पहिरोमा परेका घिसिङको शरीरका विभिन्न भागमा चोट देखिन्छ । पहिरोसँगै बागमती नदीमा ७ किलोमिटरसम्म बगेर बाँचेका घिसिङको दाहिने खुट्टा भाँचिएको छ भने आँखा सुनिएको छ । उनको खुट्टाको प्लास्टर गरिएको छ भने खतरामुक्त अवस्थामा रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए ।
उनलाई कुर्न उनका ठुलो बुबा बुद्धबहादुर घिसिङ बसेका छन् । उनले आफ्नो भतिजोले मृत्यु जितेकोमा खुसी व्यक्त गर्दै शरीर बाहिर देखिएका चोटको उपचार भइरहेको तर भित्री समस्या बारे चिन्ता पोखे ।
सोमबार रातिको अविरल वर्षाका कारण मंगलबार बिहान ४ बजेको समयमा बागमती–५ सिक्रे दोभानका अक्कलबहादुर स्याङतानको घर पहिरोले बगाउँदा हराएका ७ जना मध्ये मंगलबार नै एक जनाको उद्धार गरिएको थियो । उद्धार गरिएकी स्याङ्तानकी श्रीमती ५५ वर्षकी सन्तमाया स्याङ्तानको उपचारको क्रममा मुत्यु भएको थियो भने बुधबार बिहान उनकी छोरी २२ वर्षकी शिला पहरीको शव घटना स्थलबाट १० किलोमिटर दक्षिण बागमती नदीको बिच बगरमा फेला परेको थियो ।
पहिरोमा परी ६० वर्षका अक्कल बहादुर स्याङतान, ज्वाइँ २५ वर्षका जीवन पहरी, नाति ४ वर्षको मिलन पहरी, र नातिनी डेढ वर्षकी दिव्या पहरी अझै बेपत्ता छन् ।