कोशीमा स्वास्थ्य मन्त्री बनिन् जसपाकी निर्मला लिम्बू

Posted on: 11 Aug, 2023

साउन २६, काठमाडौँ | कोशी प्रदेश सरकारमा जनता समाजवादी पार्टीकी एक्ली सांसद निर्मला लिम्बू आज स्वास्थ्य मन्त्री बनेकी छन्। 

प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार लिम्बूलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन्।


सभामुखले समेत हस्ताक्षर गरेर मुख्यमन्त्री बनेका उद्धव थापालाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि उनी साउन १६ मा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए। 

यसअघि सत्ता गठबन्धनका दलहरू कांग्रेस , माओवादी , एकीकृत समाजवादीबाट एक/एक जना मन्त्री नियुक्त भैसकेको प्रदेशमा आज जसपा पनि सामेल भएको हो।

मुख्यमन्त्री थापाले प्रदेशमा कोशी नामविरूद्ध आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिबद्धता जनाएपछि आफू सरकारमा सामेल हुन लागेको लिम्बूले बताएकी थिइन्।

मुख्यमन्त्री थापाले विज्ञप्ति जारी गरेर यस्तो प्रतिबद्धता जनाएका हुन्। 

जसपा सांसद निर्मला लिम्बू यसअघि एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारमा पनि स्वास्थ्य मन्त्री थिइन्। केन्द्रमा जसपाले एमालेको साथ छाडेर सत्ता गठबन्धनमा सामेल भएपछि उनले राजीनामा दिएकी थिइन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!