मन्त्रीबाट फिर्ता गर्न लागेपछि सुदन किरातीको जवाफ- अध्यक्ष कमरेडलाई बाध्यता छ, सहयोग गर्न तयार छु

Posted on: 13 Aug, 2023

साउन २८, काठमाडौँ | पर्यटनमन्त्री सुदन किरातीले आफू मन्त्रीबाट फिर्ता हुन तयार रहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमतलाई सरकारमा प्रवेशसँगै माओवादीमा उनीसहितकालाई हटाएर मन्त्री हेरफेर गर्न लाग्दा किरातीले उक्त प्रतिक्रिया दिएका हुन् ।

उनले अध्यक्ष प्रचण्डलाई परेको बाध्यतामा आफूहरू सहयोग गर्न तयार रहेको बताए ।


उनले भने, ‘जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा म मन्त्रीबाट फिर्ता हुन तयार छु । मिलाउने भनेको २ अंकको केन्द्रीय समिति बनाउ तर म सहितको हुनुपर्छ भन्ने मेरो शर्त होइन । अध्यक्ष कमरेडलाई बाध्यता छ हामी उहाँलाई सहयोग गर्न तयार छौं ।’

यसअघि पर्यटनमन्त्री किराती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीमध्ये एकजनालाई हटाउने भनिएकोमा दुवै मन्त्रीको कार्यसम्पादन सन्तोषजनक नदेखिएछि माओवादी नेतृत्वले उनीहरूलाई फिर्ता बोलाउने भएको छ । माओवादीबाट गरिने हेरफेरमा स्थायी कमिटी सदस्य हितबहादुर तामाङलाई ल्याउन लागिएको बालुवाटारनिकट स्रोतले बतायो ।

नुवाकोट १ बाट निर्वाचित तामाङ सिनियर नेतासमेत भएकाले उनलाई मन्त्री बनाउन प्रचण्डलाई पार्टीमा दबाब थियो । उनी २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को विधायका बनेका थिए । उनी युवा खेलकुदमन्त्री समेत भएका थिए ।

असार अन्तिम साता माओवादीको कोटामै जनमतलाई भित्र्याउने सत्तागठबन्धनमा सहमति भइसकेको छ । जनमत पार्टीले अनितादेवी साहको नाम २६ असारमै बालुवाटारमा बुझाएकोमा भोलिपल्टै प्रधानमन्त्रीपत्नी सीताको निधन भएपछि उनी नियुक्त हुन सकिनन् ।

जनमतले पर्यटनमन्त्रालयमा दाबी गरिरहेको छ । जनमतको भागमा पर्यटन दिँदा कांग्रेसकी सीता गुरुङलाई संघीय मामिलामा ल्याएर हितबहादुरलाई शहरी विकास मन्त्रालयको जिम्मा दिन लागिएको स्रोत बताउँछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!