भारी वर्षासँगै आएको पहिरोले अवरुद्ध छन् यी १२ सडक

Posted on: 13 Aug, 2023

साउन २८, काठमाडौँ | मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा नेपाल नजिक अवस्थित रहेकाले देशैभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशभरका १२ सडकहरू अवरुद्ध रहेका छन् । पाँचथरको तमोर करीडोर बाढीका कारण अवरुद्ध रहेको छ । 


त्यसैगरी मदन भण्डारी राजमार्गको उदयपुर खण्ड पहिरोका कारण अवरुद्ध रहेको छ भने पासाङ ल्हामु राजमार्गको बेत्रावती कालिकास्थान सडक खण्ड पनि अवरुद्ध भएको छ । 

यता मकवानपुरमा कुलेखानी–सिस्नेरी–काठमाडौँ सडक खण्ड पहिरोले अवरुद्ध रहँदा पृथ्वी लोकमार्गको धादिङ खण्ड पहिरोकै कारण एकतर्फी मात्र सञ्चालनमा आएको छ । 

उता म्याग्दीमा बेनी जोमसोम सडकखण्डमा पहिरो आउँदा बाटो अवरुद्ध भएको छ भने पृथ्वी राजमार्गकाे तनहुँ खण्ड एकतर्फी मात्र सञ्चालनमा आएको छ । बेनी जोमसोम सडकको मुस्ताङमा पहिरो गएको छ भने पहिरोकै कारण बेशीँसहर मनाङ सडक खण्ड अवरुद्ध रहेको छ । 

त्यस्तै अविरल वर्षापछि आएको पहिरोले रोल्पाको थवाङ घोराही सडक खण्ड अवरुद्ध भएको छ, भने सुर्खेत दैलेख सडक खण्ड पनि एकतर्फ मात्र सञ्चालनमा आएको छ । कैलालीको भीमदत्त राजमार्ग भने पहिरोले पूर्ण अवरुद्ध रहेको छ । 

देशभर भारी वर्षाको सम्भावना रहेकोले यात्रा गर्दा बाटोको अवस्थाबारे पूर्ण जानकारी लिएर मात्र यात्रा तय गर्न ट्राफिक महाशाखाले अनुरोध गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!