हत्या मुद्दामा ६ वर्षदेखि प्रहरीको ‘खोजी सूची’मा रहेका धादिङका शिवराम केन्द्रीय कारागारमा फेला

Posted on: 14 Aug, 2023

साउन २९, काठमाडौँ | काठमाडौँको बल्खुमा ५० वर्षीय महिलाको हत्यामा संलग्न आशंकामा प्रहरीको ‘खोजी सूची’मा रहेका व्यक्ति केन्द्रीय कारागारमा भेटिएका छन् । वास्तविक नाम ढाँटेर चोरी मुद्दामा जेल बसेको अवस्थामा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका शिवराम अधिकारी भेटिएका हुन् ।

शिवराम आफ्नो नाम ढाँटेर चोरी मुद्दामा जेलमा बसिरहेको अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रबिन्द्र रेग्मीले बताए । प्रहरी नायव उपरीक्षक गोविन्द पन्थी नेतृत्वको टोलीले गरेको लामो अनुसन्धानपछि ४६ वर्षीय शिवराम नाम ढाँटेर अर्जुन अधिकारीको नाममा जेलमा बसेको थाहा भएको हो ।

२०७४ पुसमा शिवरामले आफूसँगै ज्यामी काम गर्ने ५० वर्षीय नारायणी तिमल्सिना ‘अप्सरा’को हत्या गरेको आरोप छ ।  २०७४ पुस ३० मा मकवानपुर घर भएकी नारायणीको शव काठमाडौँ महानगरपालिका–१४ स्थित बल्खु भुवनेश्वरी मन्दिरमा भेटिएको थियो ।

मृतकको खल्तिमा फेला परेको मोबाइलको आधारमा आफन्तले शव सनाखत गरेका थिए । प्रारम्भिक अनुसन्धानबाट शिवरामसँग मृतकको फोन सम्पर्क धेरै देखिएपछि प्रहरीले उनलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको थियो ।

हत्यापछि धादिङस्थित घरमा नगएका शिवराम उदयपुर, सिरहा र मकवानपुर लगायतका ठाउँमा लुकेर बसे । पछि परिवारसहित काठमाडौँको रामकोटमा तरकारी खेती गर्न थालेका उनी थानकोट क्षेत्रमा चोर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । २०७९ कात्तिकबाट उनी केन्द्रीय कारागारमा थुनामा परेको थाहा भएको छ ।

कर्तव्य ज्यान मुद्दामा शिवरामलाई बयान लिएर थप अनुसन्धान अघि बढाउन प्रहरी वृत कालिमाटीलाई लेखेर पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!