‘१ क्विन्टल’ सुन तस्करी प्रकरण: थप ३ जना चिनियाँ नागरिक पक्राउ

Posted on: 15 Aug, 2023

साउन ३०, काठमाडौँ | १ क्विन्टल सुन तस्करी प्रकरणमा थप ३ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा २ जना पुरुष र १ जना महिला छन्। पक्राउ परेकाहरु चिनियाँ नागरिक रहेका बताइएको छ। 

उनीहरुको साथबाट नगद ३१ लाख नेपाली रुपैयाँ समेत बरामद भएको सीआईबी स्रोतले जानकारी दिएको छ। 

सीआईबी स्रोतले चिनियाँ नागरिकहरु गाउ हुइ, झोङ सेक चिन र ताङ पिङ (महिला) पक्राउ परेका जनाएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको अवस्थामा राजस्व अनुसन्धान विभागले साउन २ गते ‘१ क्विन्टल’ सुन बरामद गरेको थियो। 

मोटरसाइकल र स्कुटरको डिस्क ब्रेकको प्याडमा मोरेर ल्याइएको अवस्थामा सुन बरामद भएको थियो। राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन ब्रेक सुबाट अलग्याएर जोख्दा ६० किलो ७८९ ग्राम भएको थियो। नेपाल राष्ट्र बैंकको टक्सार विभागले उक्त सुन मंगलबार गालिसकेको छ। गालेर सुनको यकिन तौल भने सार्वजनिक गरिएको छैन। 

सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले सुरुवाती अनुसन्धान गरेकामा अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ। सीआईबीले राजस्व छलिका अतिरिक्त संगठित अपराध लगयातमा अनुसन्धान गरिरहेको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!