संसद् विघटनबारे ओलीको दलिल– हामीलाई झुण्याएर मार्ने डोरी काटेका हौं, त्यो नगरी नहुने थियो

Posted on: 15 Aug, 2023

साउन ३०, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी बचाउन तत्कालीन संसद् भंग गर्नु परेको प्रष्टीकरण दिएका छन् । मंगलवार बागमती प्रदेश कमिटीलाई प्रशिक्षण दिँदै उनले कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने षड्यन्त्र चिर्न संसद् विघटन गरेको प्रष्टीकरण दिएका हुन् ।

संसद् विघटन गर्ने तत्कालीन आफ्नो सरकारको कदम राजनीतिक र संवैधानिक भएको उनले दाबी गरे । 'पुस ५ गते प्रतिनिधि सभा विघटन सिफारिस र विघटन गर्‍यौं । ठीक ठानेर गर्‍यौं । नभए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो,' उनले भने, 'हामीलाई झुण्याएर मार्ने डोरी काटेका हौं । षडयन्त्र छिन्यौं । पुनर्स्थापना भयो तर, केही पनि बिग्रेन । हाम्रो लागि त्यो नगरी नहुने थियो । त्यो राजनीतिक र संवैधानिक कदम थियो ।'

उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिस्ट पार्टी ध्वस्त बनाउन खोजेको आरोप लगाए । 'विचरा माधव नेपाल । नाम त नलिए हुने हो । कम्युनिस्ट आन्दोलन समाप्त पार्न उनले के गरेनन् ? दक्षिणपन्थी सरकार बनाए । हाम्रै वरिष्ठ नेता भएर हाम्रो सरकार गिराए । दक्षिणपन्थी सरकार बनाउन भोट दिए,' उनले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!