पुष्पाको हत्या कि आत्महत्या ? छिमेकीसँग थियो लेनदेन र विवाद

Posted on: 16 Aug, 2023

साउन ३१, काठमाडौं | साउन २६ गते घरबाट बेपत्ता भएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका-४ ड्राइभरटोलकी पुष्पा टण्डन २७ गते सालझण्ड नजिकै फायरलाइनमा फेला परिन् । फायरलाइनमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको थियो ।

शवको अवस्था हेर्दा आत्महत्या जस्तो देखिएपनि घटना शंकास्पद मानिएको छ । परिवार र आफन्तले टन्डनको हत्या भएको दावी गर्दै ५ दिनदेखि प्रदर्शन गरिरहेका छन् । छिमेककै व्यक्तिबाट हत्या गरिएको हुन सक्ने उनीहरुको आशंका छ ।


गुल्मी दरबार गाउँपालिकाकी ३६ वर्षिया पुष्पा आफ्नो एक छोरा र एक छोरीको साथमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ ड्राइभर टोलमा बस्दै आएकी थिइन् । ड्राइभरटोलमा पनि उनको आफ्नै घर रहेको बताइएको छ । पुष्पा यही साउन २६ गते शुक्रबार दिउँसो १२ बजे घरबाट हिँडेपछि फोन स्वीच अफ भएको सँगै बस्दै आएकी उनकी भदैनीको भनाइ छ ।

पुष्पाको माइत गुल्मीको छत्रकोट गाउँपालिका-३ मा पर्छ । उनका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा थिए । श्रीमतीको खबरपछि उनी दुई दिनअघि मात्रै बुटवल आएका छन् ।

निहुरो टिप्न गएका मानिसले पुष्पाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी घटनास्थलमा पुग्दा पुष्पा रुखमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । घटनास्थलमा विषसमेत फेला परेको बताइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार उनले लगाएका चप्पल शवभन्दा केही पर थियो । उनको मोवाइल भिजेको थिएन । दुईवटा सिम मोवाइलबाट निकालेर झोलामा राखिएको थियो । पुष्पाले लगाएको चश्मा टाउकोमै थियो ।

झोलाको फिता र मोटरसाइकलको साँचोमा राखिएको फिता घाँटीमा कसेर झुण्डिएको अवस्थामा शव भेटिएको हो । उनका दुवै खुट्टाले जमिनमा छोएको प्रत्यक्षदर्शिले बताएका छन् ।

राति अबेरसम्म पनि पुष्पा नफर्किएपछि छोराछोरी र भदैनीले फोन सम्पर्क गर्न खोजेका थिए । तर उनको फोन लगातार स्वीच अफ थियो । त्यसपछि भदैनीले गुल्मीमा रहेका बुबाआमालाई फोन गरिन् ।

बुबाले नजिकैको प्रहरी चौकीमा गएर रिपोर्ट लेखाउन सुझाव दिए । राति साढे १२ बजेतिर आफ्ना दुई साथी र पुष्पाका छोराछोरीसहित ६ जना भएर चौकीमा गएर भदैनीले निवेदन दिइन् ।

प्रहरीले खोजी कार्य तीव्र पार्ने भन्दै नआत्तिन सुझाव दिएर उनीहरुलाई घर पठायो । चौकीबाट निस्किएर उनीहरुले पुष्पाको चिनजानका मान्छेहरुसँग फोन गर्दै सोधपुछ गरिरहेका थिए ।

त्यत्तिकैमा दुईवटा स्कुटीमा चारजना अञ्जान व्यक्तिहरु आएर सोधपुछ गरेको र आफूहरुले घटनाबारे बताएपछि हातपात गरेको पुष्पाकी भदैनीले बताएकी छन् । त्यसक्रममा प्रहरी पनि त्यहाँ आए । तर हातपात गर्नेहरुमाथि प्रहरीले केही पनि एक्सन नलिएको भदैनीको गुनासो छ । पछि प्रहरीले हातपात गर्ने चारजनालाई नियन्त्रणमा लिएको छ ।

छिमेककै एक महिलासँग पुष्पाको झगडा भएको थियो । ती महिलाले पुष्पा आफ्नो श्रीमानसँग लागेको भन्दै टर्चर दिंने गरेको मृतकका छोराले बताए । उनका अनुसार पुष्पाले छिमेकीलाई १७ लाख ऋणसमेत दिएकी थिइन् ।

पैसा माग्न जाँदा उनले विभिन्न धम्की दिने गरेको बताइएको छ । छिमेकीले धम्की दिएपछि शुक्रबार प्रहरी बोलाएर कागज गरी समस्या सुल्झाउने सहमति पनि भएको थियो । तर शुक्रबार दिउँसो १२ बजेदेखि नै पुष्पा घरबाट सम्पर्कविहीन भइन् ।

शंकाको घेरामा रहेकी छिमेकीलाई पनि नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको छ । उनका श्रीमान्विरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको प्रहरीले जनाएको छ । मृतक पुष्पाको शव पोष्टमार्टम भएर रिपोर्ट पनि आइसकेको छ ।

पोष्टमार्टमले आत्महत्या देखाएको छ । पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले आवश्यक अनुसन्धान गरी अदालतमा पेश गर्ने र अदालतले नै कानुनबमोजिम फैसला गर्ने प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले घटना अनुसन्धानकै क्रममा रहेको बताए ।

‘घटना रहस्यमय देखिन्छ, अनुसन्धानकै क्रममा रहेकाले धेरै भन्न सकिदैन’, उनले भने, ‘अनुसन्धानले जे देखाउँछ त्यही वास्तविकता बाहिर ल्याउँछौ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!