नेयमारले भने : ग्लोबल स्टार बन्न साउदी आएँ

Posted on: 17 Aug, 2023

साउन ३२,  काठमाडौँ | ब्राजिलियन फरवार्ड नेयमारले ग्लोबल स्टार बन्ने चाहनाका साथ साउदी अरबको क्लबमा आबद्ध भएको बताएका छन् ।

पेरिस सेन्ट जर्मन (पीएसजी) का पूर्व स्टार ३१ वर्षीय नेयमार २ वर्षका लागि ९० मिलियन युरो र थप एड अनमा साउदी क्लब अल हिलालमा आबद्ध भएका हुन् ।

‘मैले युरोपमा धेरै उपलब्धिसँगै विशेष समयको आनन्द लिइसकेको छु,’ साउदी आउनको कारण खुलाउँदै उनले भने, ‘तर, म सधैं विश्वव्यापी खेलाडी बन्न चाहन्छु र नयाँ ठाउँहरूमा नयाँ चुनौती र अवसरहरूसँग आफूलाई परीक्षण गर्न चाहन्छु ।’

‘म खेलकुदको नयाँ इतिहास लेख्न चाहन्छु, र साउदी प्रो लिगमा यतिबेला ठूलो ऊर्जा र गुणस्तरीय खेलाडीहरू छन्’, नेयमारले भने, ‘मैले धेरै सुनेको छु र सिकेको छु कि म साउदी अरबमा वर्षौंदेखि खेलेका ब्राजिलियन खेलाडीहरूको लामो सूची पछ्याउँदै छु, त्यसैले मलाई विश्वास छ कि यो मैले रोजेको अर्काे गन्तव्य हो ।’

नेयमार पीएसजीमा नयाँ सिजनका लागि प्रशिक्षक लुइस एनरिकको योजनामा संलग्न थिएनन् ।


सन् २०१७ मा बार्सिलोनाबाट विश्व कीर्तिमानी २ सय मिलियन पाउन्डमा पीएसजीमा आबद्ध भएका नेयमार गत शनिबार फ्रेन्च लिग वानमा लोरिएन्टविरुद्ध गोलरहित बराबरी खेल्दा टोलीमा थिएनन् ।

अर्जेन्टिनी लियोनल मेस्सीले पनि क्लब छाडेपछि स्टार र उच्च पारिश्रमिक लिने खेलाडीहरूलाई अनुबन्ध नगर्ने पीएसजीको योजनालाई अर्का स्टार खेलाडी नेइमारले क्लब छाडेर सहज बनाएका हुन् ।

नेयमारले पीएसजीमा वार्षिक २५ मिलियन युरो आम्दानी गरिरहेको थिए । अब नेयमारले साउदी अरेबियामा प्रतिवर्ष १५० मिलियन युरो कमाउने छन् । अल हिलालले दिने पारिश्रमिक पीएसजीमा कमाएको भन्दा ६ गुणा बढी हो ।

अल हिलालका अध्यक्ष फहाद बिन सादले नेयमारलाई क्लबमा स्वागत गर्दै उनी एक विश्वव्यापी आइकन र रोक्न नसक्ने आक्रमणकारी शक्ति रहेको बताएका छन् ।

नेयमारले पीएसजीबाट १७३ खेल खेल्दा १३ ट्रफी जितेका छन् । जसमा पाँच लिग वान समावेश छन् । पीएसजीलाई २०२० को च्याम्पियन्स लिगको फाइनल पुर्‍याउन ब्राजिलियन स्टार नेयमारले महत्वपूर्ण भूमिका खेलेका थिए ।

साउदी क्लबमा नेयमारको आगमनसँगै आगामी केही वर्षमा साउदी प्रोलिग विश्वको शीर्ष प्रतियोगिता बन्ने बाटोलाई थप मजवुत बनाएको छ । नेयमार साउदी आउनुअघिनै करिम बेन्जेमा, एन गोलो कान्टे, जोर्डन हेन्डरसन, रुबेन नेभेस, साडियो माने र रोबर्टो फिर्मिनो सबै साउदी अरब आइसकेका छन् ।

पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो जनवरीमा म्यानचेस्टर युनाइटेडबाट अल नासरमा आएसँगै साउदी प्रोलिगका चर्चा चुलिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!