सिङ्गापुरमा चिनियाँ नागरिक पक्राउ, जफत गरियो ९८ अर्बभन्दा बढीको सम्पत्ति

Posted on: 17 Aug, 2023

साउन ३२,  काठमाडौँ | सिङ्गापुर प्रहरीले मनी लन्ड्रिङ विरुद्ध चलिरहेको अभियान अन्तर्गत छापा मारेर एक अर्ब सिङ्गापुर डलर बराबरको सम्पत्ति जफत गरेको छ । यसलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्ने हो भने यो ९८ अर्ब २६ करोड रुपैयाँ बराबर हो । 

यसमा सुन, महँगा कार, विलासी घर, डिजाइनर ह्यान्डब्यागलगायत २३ मिलियन सिङ्गापुर डलर नगद समावेश छन् । यस घटनामा हालसम्म १० जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूबाट विदेशी राहदानी समेत बरामद गरेको छ ।


यी मानिसहरू चीन, कम्बोडिया, टर्की र वनुआटु जस्ता देशका नागरिक भएको बताइएको छ । यिनीहरु ३१ देखि ४४ वर्ष उमेर समूहका हुन् । प्रहरीका अनुसार यो समूह विदेशी संगठित अपराध गतिविधिलगायतका घोटालाहरू र अनलाइन जुवाबाट हुने अपराधको आयलाई लुट्ने काममा संलग्न भएको आशंका गरिएको थियो ।

तर सिङ्गापुरमा यस प्रकारको छापा विरलै हुने गरेको छ किनभने सिङ्गापुरमा अपराध दर विश्वका अन्य देशको तुलनामा निकै कम छ ।

सिङ्गापुर प्रहरीको वाणिज्य मामिला विभागका निर्देशक डेभिड च्युले भने, ‘ सिङ्गापुर अपराधीहरूको लागि सुरक्षित आश्रयस्थलको रूपमा प्रयोग भएको हामी कुनै पनि हालतमा स्वीकार गर्न सक्दैनौँ ।’ 

‘अपराधीहरूलाई हाम्रो सन्देश स्पष्ट छ– यदि तपाईंले गलत काम गर्नु भयो भने हामी पक्रने छौं । यदि हामीले तपाईंको अवैध सम्पत्ति फेला पार्‍यौँ भने ती जफत गर्नेछौँ । र, तपाईंविरुद्ध कानुनी रूपमा कडा कारबाही गर्नेछौँ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!