पुष्पा टण्डन मृत्यु प्रकरण: २ जना छिमेकी पक्राउ

Posted on: 17 Aug, 2023

साउन ३२,  काठमाडौँ | रुपन्देहीको तिलोत्तमाकी पुष्पा टण्डन मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी रन्जित भुसाल र उनकी पत्नी लक्ष्मी भुसाल हुन् ।

तिलोत्तमा नगरपालिका– ४ ड्राइभरटोलकी ३६ वर्षीया पुष्पालाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाले बताए ।

साउन २६ गते दिउँसो घरबाट निस्किएकी पुष्पा साउन २७ गते सालझण्डीनजिकै फायरलाइन जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । गुल्मी दरबार गाउँपालिकाकी पुष्पा छोरा र छोरीको साथमा तिलोत्तमामा बस्दै आएकी थिइन् ।

पुष्पा चढेर निस्किएको स्कुटर बुटवलको अस्पताल लाइनमा भेटिएको थियो । उनको मृत्युपछि परिवार, माइती र आफन्तजनले रहस्मय हत्या भन्दै आन्दोदल गरिरहेका छन् तर प्रहरीले यो विषय सुक्ष्म तरिकाले अनुसन्धान गर्नुपर्ने भएकाले अहिले नै निक्र्यौल गर्न नसकिने जनाएको छ ।

यसैबीच पुष्पाको मृत्युको विषयमा घटनाको निश्पक्ष छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न तिलोत्तमा नगरपालिकाले माग गरेको छ । नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले बिहीबार विज्ञप्ती जारी गरी घटनाको सत्यतथ्य छानविन गर्न प्रहरी प्रशासनलाई अनुरोध गरेका छन् ।

घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएको र पीडित पक्षबाट समेत विरोध प्रदर्शन भइरहेको अवस्थामा घटनाको निश्पक्ष छानविन गर्न र सत्यतथ्य बाहिर ल्याउन नगरपालिकाले माग गरेको छ ।

जारी विज्ञप्तीमा भनिएको छ–‘यस घटनालाई महिला हिंसा र सामाजिक न्यायको दृष्टिकोणबाट पनि हेर्दै पीडित पक्षको न्यायको लागि तिलोत्तमा नगरपालिका समन्वय र सहकार्य गर्न तयार रहेको छ ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!