भदौ ३, विराटनगर | जबरजस्ती करणीको आरोपमा नेकपा (एमाले) को भातृ संगठन युवा संघका बेलबारी नगर अध्यक्ष ३४ वर्षीय काशीराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
मोरङको बेलबारी नगरपालिका–१० घर भएका उनलाई बलात्कार आरोपमा प्रहरीले साउन ३२ गते पक्राउ गरेको हो। उनीविरूद्ध असार २ गते बलात्कार गरेको भनेर २० वर्षीया युवतीले किटानी जाहेरी गरेकी थिइन्। जाहेरी परेपछि साउन ३२ गते तामाङ आफैं इलाका प्रहरी कार्यालय बेलबारीमा उपस्थित भएका डिएसपी रन्जनकुमार दाहालले बताए ।
उनका अनुसार तामाङविरुद्ध साउन २४ गते किटानी जाहेरी परेको थियो। तामाङ रेस्टुरेन्ट पनि चलाउँछन्। उनले पोललाइट रेस्टुरेन्टमा आफूलाई बलात्कार गरेको युवतीले बताएकी छन् । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन पाँच दिनको म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए।