कीर्तिपुरको बस्तीमा पसेको चितुवा नियन्त्रणको प्रयास असफल

Posted on: 24 Aug, 2023

भदौ ७, काठमाडौँ | कीर्तिपुर नगरपालिका-४ थापागाउँस्थित कुखुराको खोरभित्र भेटिएको चितुवा नियन्त्रणमा लिने प्रयास असफल भएको छ ।

डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रहार गरी नियन्त्रणमा लिने प्रयास गरे पनि सफल नभएपछि चितुवा त्यहाँबाट भागेको छ । चितवा कुखुराको खोरबाट निस्किएर नजिकैको खोल्सातिर भागेपछि वनको टोली पनि त्यहाँबाट फर्किएको छ ।


गएराति करिब एक बजेतिर कुखरा पालनका लागि बनाइएको खोरभित्र चितुवा पसेको थियो । त्यहाँभित्र सुतिरहेका एक व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो । प्रतिरक्षा गर्दा चितुवाको च्यापुनेरको भागमा पनि चोट लागेको छ ।

स्थानीयले घाइतेलाई उद्धार गरी अस्पताल पुर्याएका थिए भने उक्त चितुवालाई खोरभित्रै थुनेर राखेका थिए । चितुवासँग घम्साघम्सी पर्दा घाइते भएका ती व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

कुखुराको खोरभित्र चितुवा थुनिएको जानकारी पाएपछि डिभिजन वन कार्यालयको प्राविधिक टोली डार्टसहित कीर्तिपुर पुगेको थियो । प्राविधिहरुले चारपटकसम्म डार्ट प्रहार गरे पनि चितुवालाई लागेन । पाँचौपटक प्रहार गर्ने तयारी भइरहेको बेला चितुवा आफैं खोरको माथिल्लो भागबाट निस्किएर भागेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!