ग्रीसमा नेपालीलाई अपहरण गरेर २१ लाखभन्दा बढी फिरौती लिने चारजना पक्राउ

Posted on: 25 Aug, 2023

भदौ ८, काठमाडौँ | ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ग्रिस तथा दुवईबाट वाट्सएपमार्फत पीडितका परिवारलाई सम्पर्क गरेर २१ लाख ७५ हजार नेपालमा फिरौती रकम लिने र घटनामा संलग्न व्यक्तिलाई विभिन्न मितिमा काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

उनीहरुबाट फिरौती रकमसमेत बरामद तथा पक्राउ गरी ग्रीसमा बन्धक बनाई राखेका पिडितसमेतलाई सकुशल उद्दार गर्न सफल भएको सीआईबीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चारै जनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद गरेर अनुसन्धान भइरहेको छ ।


सीआईबीका अनुसार धनुकुटाका ३२ वर्षका शिवराज कुँवर भदौ दुई गते गौरिघाटबाट, काठमाडौं तारकेश्वरका ५६ वर्षीय रामेश्वर अर्याल भदौ तीन गते तारकेश्वरबाट, कपिलवस्तु शिवराज नगरपालिकाका ३२ वर्षका प्रकाश बेलबासे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट र पर्वतको फलेबाट नगरपालिकाकाका ४२ वर्षीय दिलबहादुर थापा पनि त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलबाटै पक्राउ परेका हुन् ।

गत जेठ १२ गते मोरङको रंगेली नगरपालिका दुईका २५ वर्षीय सावित्रा थापा, उदयुपरको त्रियुगा नगरपालिका तीनका कृष्ण कार्की र काभ्रेपलोञ्चोकको नमोबुद्ध नगरपालिका एकका ३० वर्षका राजन सत्याल एकसाथ नेपालबाट सिजनल भिषामा बैदेशिक रोजगारीको सिलसिलामा सर्विया पुगेका थिए ।

सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएको कारण पुन लुकीछिपी ग्रीस प्रवेश गर्ने क्रममा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानी भन्ने खुल्न आएका व्यक्ति तथा उसको सहयोगीसमेतले अपहरण गरी उनीहरुलाई डोरीले बाधेर शारिरीक तथा मानसिक यातना र डर त्रास देखाउँदै ज्यान मार्ने धम्की दिएर पीडितको नेपालमा रहेका परिवारसँग १० हजार युरो फिरौती माग गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!