मोरङको सुनवर्षीमा शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास

Posted on: 28 Aug, 2023

भदौ ११, विराटनगर । मोरङको सुनवर्षीमा पेट्रोल छर्किएर शरीरमा आगो लगाउँदै एकजनाले आत्मदाहको प्रयास गरेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार झापाको गौरादह नगरपालिका-६ घर भएका अन्दाजी २० वर्षीय अभिषेक सिंहले पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएका हुन् । सिंहले सुनवर्षी नगरपालिका-९ स्थित आदर्श माध्यमिक विद्यालयनजिक आफ्नो शरीरमा पेट्रोल छर्किएर आफैंले आगो लगाएको दाहालले बताए ।

उनका अनुसार सुनवर्षी-९ माझी गाउँमा सिंहको मामा घर हो । मामा हजारीलाल सिंहको घरमा आएका उनले दिउँसो १२ः३० बजेतिर शरीरमा आगो लगाएको जानकारी प्रहरीले दिएको छ । पेट्रोल छर्किएर आगो लगाउँदै आत्मदाह प्रयास गर्नुको कारण यकिन भइनसकेको डीएसपी दाहालले जानकारी दिए ।

अनुसन्धानपछि घटनाको कारण पत्ता लाग्ने दाहालले बताए । स्थानीयले शरीरमा लागेको आगो निभाएर घाइते अवस्थाका सिंहलाई उद्धार गर्दै उपचारका लागि रंगेली अस्पतालमा ल्याएका थिए । प्रहरीका अनुसार आगोले सिंहको छात्ती, हात, खुट्टालगायत शरीरका विभिन्न भाग जलेको छ । गम्भीर अवस्थाका उनलाई थप उपचारका लागि आफन्तले विराटनगरतर्फ ल्याएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!