सुन तस्करीको सूचना सङ्कलन गर्न एसएसपी आचार्य हङकङमा

Posted on: 30 Aug, 2023

भदौ १३,  काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो सुनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ उपरीक्षक हङकङ पुगेका छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को समन्वयमा एसएसपी दिनेश आचार्य हङकङ गएका हुन् ।

प्रहरी वरिष्ठ उपरीक्षक आचार्य गएराति हङकङ प्रस्थान गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले बताए । हङकङबाटै तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो ।

इन्टरपोल हङकङसँग सहकार्य गरेर त्यहाँबाट सुन पठाउने गिरोहको सूचना सङ्कलन गर्न आचार्य हङकङ गएका हुन् । अनुसन्धानका लागी प्रहरीले इन्टरपोलको सहयोग माग्दै यसअघि नै पत्राचार गरेको थियो । नेपालमा पछिल्लो समय हङकङ  र दुबईबाट सुन तस्करी हुने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

सुन प्रकरणमा चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ । तस्करीमा संलग्न चिनियाँहरू यसअघि हङकङमा अपराधमा संलग्न थिए वा थिएनन् भन्नेबारे इन्टरपोल हङकङसँग समन्वय गरेर विवरण ल्याउन आचार्य त्यहाँ गएका हुन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पठाएको पत्रको आधारमा इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौँले इन्टरपोल हेडक्वार्टरलाई पर्पल नोटिश जारी गर्न सिफारिस गरेको छ ।

सुन ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँमा ल्याएको थियो । नेपालमा ल्याएपछि सुनलाई गालेर गिरोहले भारत पठाउने गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानबाट थाहा भएको छ  । प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा सहयोग माग्दै इन्टरपोल भारतलाई पनि पत्राचार गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!