विप्लवको चेतावनीपछि धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सभा नै स्थगित

Posted on: 30 Aug, 2023

भदौ १३,  काठमाडौँ | अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) कार्यान्वयनलाई लिएर सत्तारूढ तीन दल र विप्लव नेतृत्वको नेकपासहितको समाजवादी मोर्चाभित्र विवाद उत्पन्न भएको छ ।

बुधबार(आज)देखि कार्यान्वयनमा जान लागेको एमसीसीलाई लिएर मोर्चा आबद्ध दलहरूबीच विवाद उत्पन्न भएको हो । कम्तीमा संसदबाट अनुमोदन भएको १२ बुँदे व्याख्यात्मक घोषणा सम्बन्धमा अमेरिकाले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै मोर्चामा सहभागी दलहरूभित्र विवाद छ ।

एमसीसी कार्यान्वयन हुन नदिने चेतावनी दिँदै विप्लवको पार्टी सडक संघर्षमा उत्रिएको छ । अर्को घटक जसपा अन्योलमा छ । मोर्चामा सहभागी भएका दलहरूबिच विवाद उत्पन्न भएपछि सुदूरपश्चिमको धनगढीमा हुने भनिएको मोर्चाको सन्देशसभा नै स्थगित भएको छ ।

एमसीसी कार्यान्वयनलाई लिएर बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । २ घण्टा लामो भेटघाटमा उनले संसदबाट अनुमोदन भएको १२ बुँदे व्याख्यात्मक घोषणाका सम्बन्धमा अमेरिकाको आधिकारिक धारणा नआएसम्म कार्यान्वयन नगर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरे । तर प्रधानमन्त्रीले एमसीसी कार्यान्वयन कर्मचारी तहमा प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने जवाफ फर्काएका थिए ।

प्रधानमन्त्रीको जवाफबाट रूष्ट भएका विप्लवले ययास्थितिमा माओवादी केन्द्रसँग सहकार्य गर्न नसकिने भन्दै आफू धनगढीमा हुने मोर्चाको कार्यक्रममा सहभागी नहुने चेतावनी दिएका थिए । स्थगित बैठक बस्ने सम्बन्धमा केही थाहा नभएको नेकपाका नेता अनिल शर्मा विरहीले बताए ।

उनका अनुसार यथास्थितिमा बिहीबार कर्णालीको सुर्खेत, शुक्रबार गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौंडा र २५ गते कोशीको विराटनगरमा हुने सभामा पनि आफूहरू सहभागी नहुने चेतावनी विप्लवले दिए । राष्ट्रियतामाथि दीर्घकालीन असर पर्ने विषयमा सरकार संवेदनशील नदेखिएकोमा असन्तुष्टि जनाउँदै उनले एमसीसी कार्यान्वयनविरूद्ध थप संघर्षका कार्यक्रम ल्याउने चेतावनी दिए ।


‘संसदबाट अनुमोदन भएको १२ बुँदे सहमतिबारे अमेरिकाको एमसीसी कार्यालयले आधिकारिक लिखित पत्र पठाएको छैन । उसको लिखित जवाफ नआएसम्म हामी एमसीसी कार्यान्वयन हुन दिँदैनौं’, शर्माले भने, ‘यसमा प्रधानमन्त्रीको समेत निरीहता देखियो । यथास्थितिमा मोर्चाको कार्यक्रममा सहभागी नहुने भनेपछि आजको सभा स्थगित भएको हो । यही अवस्थामा बाँकी कार्यक्रममा पनि हामी सहभागी हुँदैनौं ।’

तर माओवादी केन्द्र र एकीकृत समाजवादीले शीर्ष नेताहरू व्यस्त भएकाले धनगढीको कार्यक्रम स्थगित भएको जिकिर गरेका छन् । माओवादी केन्द्रका महासचिव देव गुरुङले प्रधानमन्त्रीसहित शीर्ष नेताहरू व्यस्त भएकाले सभा स्थगित भएको बताए । उनले धनगढीको सभा स्थगित भए पनि बाँकी सभा हुने जानकारी दिए । एमसीसीलाई लिएर दलहरूभित्र विवाद भएको उनले स्वीकार गरे ।

‘प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको कार्यव्यस्तताका कारण धनगढीमा हुने कार्यक्रम स्थगित भएको हो । बाँकी कार्यक्रम हुन्छ । दलहरूको सहमतिमा सुदूरपश्चिममा फेरि कार्यक्रम राख्छौँ । एमसीसीलाई लिएर विवाद भए पनि आपसी समझदारीमा अगाडि बढ्छौँ । यसले मोर्चालाई कुनै असर गर्दैन’, उनले भने ।

उनले एमसीसी कार्यान्वयन सम्बन्धमा अमेरिकी अधिकारीले प्रधानन्त्रीसँग मौखिक प्रतिबद्धता जनाए पनि लिखित प्रतिबद्धता नआएको जानकारी दिए ।

एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले एमसीसी कार्यान्वयनलाई लिएर मोर्चा आबद्ध दलहरूबिच विवाद उत्पन्न भए पनि समाजवादी यात्रामा यसले कुनै असर नगर्ने जिकिर गरे । शीर्ष नेताहरूको कार्यव्यस्तताका कारण धनगढीको सभा स्थगित भएको उनको जिकिर छ ।

‘दलका शीर्ष नेताहरू कार्यव्यस्तताका कारण सुदूरपश्चिमको कार्यक्रम स्थगित भएको हो । एमसीसीको कारण रोकिएको होइन । अन्य कार्यक्रम स्थगित भएको छैन’, हमालले भने, ‘एमसीसी कार्यान्वयनलाई लिएर दलहरूबिच केही विवाद उत्पन्न भए पनि यसले आगामी यात्रालाई कुनै असर पर्दैन ।’

विवादकाबिच २०७८ फागुन १५ गते व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएको एमसीसी कार्यान्वयनलाई लिएर मोर्चामा आबद्ध दलहरूबीच फेरि लफडा सुरू भएको हो ।

दिउँसो ३ बजे नेपाल सरकार र एमसीसीबिच कार्यान्वयनमा जाने सम्झौता पत्र आदानप्रदान हुने कार्यक्रम तय भएको छ । सम्झौताका लागि अमेरिकाबाट एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइसकेका छन् । एमसीए नेपालका सञ्चार विज्ञ पुस्कर माथेमाले आजदेखि कार्यान्वयनमा जाने एमसीसी परियोजना ५ वर्षमा सकिने बताए ।

कार्यान्वयनका लागि केही स्थानमा जग्गा प्राप्ति भएसके पनि अन्य स्थानमा मुआब्जा बापतको जग्गा प्राप्ति विवाद कायमै छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!