शिक्षकले गरे सुस्त मनस्थितिकी बालिका बलात्कार

Posted on: 03 Sep, 2023

भदौ १७, चितवन । माडी नगरपालिकाका एक शिक्षकलाई सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

१५ वर्षकी छिमेकी बालिकालाई माडी ९ का शिक्षक ४२ वर्षका हरीबहादुर सार्की हरिजनले बलात्कार गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।

बालिकाका आफ्नो घरमा खेल्न गएको मौका छोपी शिक्षक हरिजनले उनीमाथि बलात्कार गरेको खुलेको हो । हिजो शनिबार बालिकाकी आमा मेला गएको समयमा हरिजनले फकाएर सुस्त मनस्थितिकी उनलाई बलात्कार गरेको बालिकाले आफ्नी आमालाई बताएकी थिइन् । त्यसपछि उनले प्रहरीलाई खबर गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सरिता विश्वकर्माका अनुसार आरोपी हरिजनलाई प्रहरीले हिजो नै नियन्त्रणमा लिएको छ । आज जबरजस्ती करणी अन्तरगत बालिकाकी आमाले जाहेरी दर्ता गरिसकेको पनि उनले जानकारी दिइन् ।

माडी ९ का स्थानीयका अनुसार हरिजन आफ्नो श्रीमतीलाई रक्सी पिएर कुटपिट गरिरहन्थे । हिजो पनि श्रीमतीलाई कुटेपछि उनी माइती गएको मौका छोपी बालिकामाथि बलात्कार गरेका हुन् । उनी माडी ९ कै एक विद्यालयमा पढाउँदै आएका छन् ।

सुस्त मनस्थितिकी बालिका राम्रोसँग बोल्न सक्दिनन् । बालिकाका परिवारको स्थायी घर धादिङ हो । उनीहरु ८ महिनाअघि धादिङबाट माडी गई अरुको जमिनमा अँधिया खेतीपाती गर्दै आएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!