विवाहित छोरीकाे अविवाहित नागरिकता बनाउन खोज्दा बुबा पक्राउ

Posted on: 06 Sep, 2023

भदौ २०, काठमाडौँ | सिरहामा विवाहित छोरीकाे अविवाहित नागरिकता बनाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको नवराजपुर गाउँपालिका–३ का अरविन्द कुमार यादवले २२ वर्षीया छोरी सुनिता कुमारी यादवलाई अविवाहित नागरिकता बनाउन खोज्दा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सिरहामा विवाहित भएपनि झुटो विवरण पेश गरी छोरीलाई नागरिकता बनाउन खोज्दा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले बुवालाई पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी भवेश झाले नागरिकता सनाखतको क्रममा विवाहित भएको पुष्टि भएपछि झुटो विवरणसहित सनाखत गर्ने बुबा अरबिन्दलाई पक्राउ गरिएको बताए ।

विवाहित छोरीलाई अविवाहित नागरिकताको सिफारिस गर्ने वडाअध्यक्ष वंशीलाल यादवलाई पनि नियन्त्रणमा लिइने जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । जानाजान विवाहितलाई अविवाहित भनेर सिफारिस गर्ने नवराजपुर गाउँपालिका–३ का वडाअध्यक्ष यादवलाई नियन्त्रणमा लिइने सूचना अधिकारी झाले बताए । यस विषयमा थप छानबिन गर्नुपर्ने भएकोले वडाअध्यक्षलाई पनि झिकाउने निर्देशन प्रजिअवाट प्राप्त भएको सूचना अधिकारी झाले बताए ।

अविवाहित नागरिकता बनाउन खोज्ने सुनिताको सप्तरीको बोदेबरसाईन नगरपालिका–१० खडगपुरमा २०७८ फागुनमा सामाजिक परम्परा अनुसार विवाह भएको तथ्य प्राप्त भएको सुचना अधिकारी झाले बताए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!