मेयर हर्क साम्पाङले थुनाएका युवालाई वडाध्यक्ष इवारामको जिम्मामा छाडियो

Posted on: 10 Sep, 2023

भदौ २४, धरान | मेयर हर्क साम्पाङले थुनाएका धरान १५ का स्थानीय युवा अशोक लिम्बुलाई सोही वडाका अध्यक्ष नरेश कुमार इवारामले जिम्मा लिएर छुटाएका छन् ।

वडा प्रहरी कार्यालयका अनुसारका शुक्रवार मेयर साम्पाङलाई प्रश्न गर्दा पक्राउ परेका अशोक लिम्बुलाई १५ नम्बरका वडाध्यक्षको जिम्मा लगाएर रिहा गरिएको हो ।

केही समयअघिमात्र वैदेशिक रोजगारीबाट फर्केका युवा लिम्बुले स्थानीयलाई समस्या पर्दा मेयरले बेवास्ता गरेको भन्दै फोटो खिच्नका लागि मात्र टोलमा किन आएको भनी प्रश्न गरेका थिए ।

उनीसहितको टिमले चन्दा उठाएर मिर्गौला पीडित असहाय परिवारको उपचारमा सहयोग गरेका थिए । त्यसबेला नआउने नगरपालिकाले अहिले आएर उनीहरूको फोटो खिचेकोमा लिम्बुले प्रश्न गरेका थिए ।

मेयरले भने अशोकलाई गुण्डागर्दीको आरोपमा पक्राउ गराएका हुन् । अशोक छुटेपछि पनि मेयरले सदाझैँ फेसबुकमार्फत गुण्डागर्दीविरुद्धको आफ्नो अभियान नरोकिने बताएका छन् ।

स्थानीयका अनुसार वैदेशिक रोजगारीबाट फर्केका अशोक गुण्डागर्दी र गलत क्रियाकलापमा संलग्न भएको अहिलेसम्म कतै पनि भेटिएको छैन । बरु उनले डेंगुबाट संक्रमित भएका तर परिवारमा सबै अपांग भएका कारण उपचार नपाएकाहरूको उपचारमा चन्दा संकलन गरेको पाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!