‘जवान’बाट हटाइयो नेपालको पुरानो नक्सा समेटिएको दृश्य

Posted on: 10 Sep, 2023

भदौ २४, काठमाडौँ | अहिले हलमा प्रदर्शन भइरहेको शाहरुख खान स्टारर ‘जवान’मा समावेश नेपालको पुरानो नक्सा (चुच्चो नभएको)लाई फिल्मबाट हटाइएको छ ।

सामाजिक सञ्जाल र मिडियामा यसबारे टिप्पणी भएपछि उक्त नक्साको दृश्य हटाइएको केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए ।

सन् २०१९ नोभेम्बरमा भारतले नेपाली भूभाग समेटेर नयाँ राजनीतिक नक्सा जारी गर्‍यो । त्यसको विरोधमा नेपालले पठाएको कूटनीतिक नोटलाई बेवास्ता गर्दै भारतले लिपुलेक क्षेत्रमा सडक बनाउन थालेपछि नेपालले पनि नयाँ राजनीतिक नक्सा जारी गर्‍यो । लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेटर जारी भएको नयाँ नक्सालाई २०७७ जेठमा संसदले सर्वसम्मत पास गर्‍यो ।

पछिल्लो समय चीनले पनि आफ्नो नयाँ नक्सामा नेपालको पुरानै भूगोल चित्रण गरेपछि यसको पनि विरोध भइरहेको छ । विरोधमा काठमाडौंका मेयर बालेन शाहले चीन भ्रमण नै रद्द गरे । फिल्मको कुरा गर्दा शाहरुखको यो फिल्मले नेपाली बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!